
बिराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीमा निहित भएकोले उहाँले नै यसका सम्बन्धमा निर्णय लिने बताउनुभएको छ ।
प्रदेश नं। १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षले भन्नुभयो, ‘आज बिहान मात्रै मैले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छु ।’
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्यो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’
उहाँले मन्त्री परिवर्तनका विषयमा थप भन्नुभयो, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’
अध्यक्ष प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीमै रहेकोले आफै गर्न भनेको बताउनुभयो।
नेकपाका संयुक्त अध्यक्ष प्रचण्डले सिके राउतका बारेमा पार्टीका नेताहरुले गरेको अभिव्यक्तिलाई पार्टी कमिटिमा छलफल गरेर व्यवस्थापन गरिने बताउदै उहाँका सम्बन्धमा बाहिर नबोल्दा राम्रो हुने बताउनुभयो ।