Prakash Adhikari March 12, 2019

काठमाडौं, २८ फागुन । नेपालको पूँजी बजारको सूचक मानिएको नेप्से परिसूचक नौ दिन पहिले(१९ फागुन,२०७५) मा यो बर्षकै न्यूनतम् विन्दुमा ओलिएको थियो । ब्याजदर अनियन्त्रित रुपमा बढँदै गएपछि शेयर बजारका लगानीकर्ताहरु निराश भएका थिए ।

तर उद्योगपति र व्यापारीहरुको निरन्तर दबाव र अर्थ मन्त्री डा. युवराज खतिवडा तथा नेपाल राष्ट बैंकका गभर्नर डा. चीरंजीवि नेपालको सुझबुझपूर्ण र समझदारीपूर्ण प्रयासले बाणिज्य बैंकहरुले व्याजदर नियन्त्रणमा राख्ने सहमति गरे र त्यस यता नेप्से बढ्दै आएको छ । मंगलबार मात्रै २० अंकको बढोत्तरी भएर नेप्से ११६३.२६ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्र हैन, शेयर कारोबार रकम पनि बढेको छ । मंगलबार ५० करोड ५९ लाखभन्दा बढीको कारोबार भएको छ ।

तर दुर्भाग्य यही समयमा शेयर बजारमा लगानी गरेर नाफा आर्जन गर्न भनेर तम्सिरहेको केही लगानीकर्ताहरु नाफा बुक गर्न छोडेर अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालको शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपालको शेयर बजारमा अहिले सबैभन्दा ठूलो प्राविधिक समस्या नेपाल स्टक एक्सचेञ्जले कार्यान्वयनमा ल्याएको नयाँ सफ्टवेयरले ल्याएको छ । तर लगानीकर्ताहरुको आन्दोलन नेप्सेप्रति लक्षित छैन् । उनीहरुले घोषणा गरेको आन्दोलनमा त्यस विषयमा केही बोलिएको छैन् ।

बरु अनौठो कार्यक्रम राखिएको छ, अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने, सेबोन अध्यक्ष र सेबोनका कार्यकारी निर्देशक तथा नेप्सेको कार्यकारी प्रमुखको घर घेराउ गर्ने जस्ता अशोभनीय र शान्ति सुरक्षामा खलल पार्ने खालका काममा विवेकहिन लगानीकर्तालाई उतारिएको छ ।

सामान्यत सरकारी नीतिका सम्बन्धमा विरोध गर्न परे वा सुधार गर्न परे वा आफ्ना गुनासा भए माग वा सुझावका रुपमा त्यससंग सम्बन्धित निकायका प्रमुखलाई कार्यालयमा ज्ञापन पत्र वा माग पत्र पेश गर्ने लोकतान्त्रिक परिपाटी छ ।

तर सरकारी जिम्मेवारीमा रहेको व्यक्तिले आफ्ना सीमाभित्र रहेर गरेको कामका लागि घर घेराउ गर्ने, परिवारका सदस्यलाई डर त्रास देखाउने, धाक धम्की दिने,भौतिक आक्रमण गर्ने र अपहरण गर्ने कार्य विवेकशील व्यक्तिले गर्दैन् ।

पूँजी बजारमा उपलब्ध साधनहरुको अधिकत् उपयोग गरी लाभलिन अग्रसर रहने व्यवसायीहरुले अपनाएको आतंककारी शैलीलाई पुँजी बजारका कसैले पनि रुचाएका छैनन् ।

लगानीकर्ताको नाममा आएको विरोध कार्यक्रमले प्रधानमन्त्रीको मन्त्री चयन गर्ने, काममा लगाउने र जिम्मेवारी मुक्त गर्ने अधिकारलाई पनि चुनौति दिन खोजेको छ । नेपाल सरकारले लामो समयदेखिको निरन्तर प्रयास स्वरुप आयोजना गर्न खोजेको लगानी सम्मेलन र त्यसलाई सफल बनाउन सहभागिता जनाउन आउने विदेशी लगानीकर्ताहरुलाई पनि तर्साउन खोजेको छ ।

बजारमा सुधार आएको बेलामा थालिएको यो आन्दोलनलाई बमौसमको बाजाको उपमा दिइएको छ ।

नेपालको शेयर बजारको नियमन गर्ने जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्डले पूँजी बजारको सुधार र लगानीकर्ताको हित संरक्षणका लागि चाल्नु पर्ने कदमका बारमा सरोकारवालाहरुसंग आपसी वार्ता गर्न सधै तत्पर रहेको सार्वजनिक जानकारी दिदा दिदै पनि लगानीकर्ताको नाममा पूँजी बजारलाई अस्थिर बनाउन उद्यत हुने व्यक्ति र तिनलाई उक्साउने तत्वहरुको पनि खोजी हुन थालेको छ ।

यद्यपि सरकार पुनर्गठनको हल्ला चल्न थालेकोले अर्थमन्त्रीको आकर्षक पद हत्याउन नेपाल कम्युनिष्ट पार्टीकै कतिपय सांसद र पूर्वमन्त्रीहरु र्याल काढेर बसेको अवस्था छ भने दुई तिहाई बहुमतको सरकार भएको बेलामा पनि शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज र नेपालको बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने र केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट बैंकको सर्वोच्च पद गभर्नरमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेको पदाधिकारी भएकोमा तिनलाई प्रतिस्थापन गरेर हसिया हथौडा अंकित झण्डा बोक्ने कार्यकर्तालाई आसिन गराएर व्यक्तिगत स्वार्थ हासिल गर्ने समूह पनि मरिमेटेर लगानीकर्ता नामधारी संगठनलाई तेल हालिरहेको पनि बताइन्छ ।

अन्यथा विगत केही बर्ष यता शेयर बजारमा अकल्पनीय सुधार आएको छ । यसको प्राथमिक बजार देशव्यापी बनेको छ । दोस्रो बजारलाई पनि देशव्यापी बनाएर आफूसंग रहेका शेयर बेच्ने रआफुले चाहेका शेयर किन्ने व्यवस्था सहज बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल सरकार र नेपाल राष्ट बैंकले बैंकहरुलाई शेयर खरिद विक्री गर्ने दलाल व्यवसायीको काम पनि दिने तयारी थालेका छन् ।

पूँजी बजारलाई नजिकबाट नियाल्नेहरुका अनुसार नेपालको पूँजी बजारमा दलालको पसल खोलेर अकूत सम्पत्ति कमाएका केही दलाल व्यवसायीहरु बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने प्रकृया अबरुद्ध गर्न यो आन्दोलनमा लगानीकर्तालाई उक्साइरहेका छन् ।

शेयर लगानीकर्ताको नाममा आएको कथित दबाब समूहले चैत ९ गते पुँजी बजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पुँजी बजारको बारेमा अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकार र प्रतिपक्ष दुवैलाई चिढ्याउने यो प्रत्युत्पादक आन्दोलन कसरी जान्छ ?यसै भन्न नसकिने अवस्था सिर्जना भएको छ ।

Share Now

Leave a comment.