हैदरावाद(आन्ध्र,भारत) १२ चैत्र । भारत भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले चौथो तथा अन्तिम अभ्यास खेलमा आन्ध्र स्टेट अन्ड १९ क्रिकेट टिमलाई ९ रनले पराजित गरेको छ।
अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप नेपाली यु १९ टोली भारतको अभ्यास भ्रमणमा आन्ध्र पुगेको हो ।
खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा आन्द्राले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय १२ रनको योगफल तयार पारेको थियो।
नेपाललाई विजयी बनाउन बलिङ्गतर्फ पवन सर्राफ, कुशल मल्ल र भिम सार्कीले समान २ । २ विकेट लिए भने कमल ऐरी, रशिद खाँ र सागर ढकालले १ । १ विकेट लिए ।
https://www.facebook.com/CricketRaman/videos/1071784619677527/
आन्ध्रको प्रदर्शन
नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा कुनै समय १३२ । १ को आरामदायी अवस्थामा रहेको आन्द्रा स्टेट अन्डर – १९ टोलीलाई पछि नेपाली बलरहरुले धरासायी बनाए । टोलीका लागि ओपनर ब्याट्सम्यान नितेश कुमारले सर्वाधिक ७४ तथा हर्षबर्धनले ३६ रन जोड्दै टोलीलाई सुखद सुरुवात दिलाएका थिए।
टोलीको स्कोर १३२ रन रहंदा सागर ढकालले नितेश कुमारको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। नितेशको विकेट पश्चात आन्द्राको टोलीले लय गुमायो र थप ८० रन जोड्दा ८ विकेट गुमाउन पुग्यो।
उसका योगानन्दले २०, दुर्गा कुमारले २५ र एमके दत्त रेड्डीले व्यक्तिगत २१ रन जोडेपनि टोलीको हार टार्न सकेनन्।
नेपालको प्रदर्शन
यसअघि खेलमा पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रनको योगफल तयार गरेको थियो।
नेपाली टोलीले ३३ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो। तर त्यसपश्चात भने लगातार विकेट झर्दा कुनै समय नेपाल १३३। ८ को खराब अवस्थामा पुग्यो।
नेपालको इनिंगलाई सम्मानजनक स्कोरसम्म पुर्याउन नवौं विकेटका लागि कुशल मल्ल र राशिद खानले ६७ रनको साझेदारी गरेकाथिए। उत्कृस्ट ब्याटिंग गरेका कुशल ४८ रनमा अविजित रहंदा राशिद भने ४१ रनमा पभेलियन फर्किए। मात्र ५७ बलमा २ चौका र २ छक्का सहित कुशलले ४८ रन जोड्दा रशिदले आक्रामक ब्याटिंग गर्दै ४० बलमा ४ चौका र १ छक्का सहित ४१ रन जोडेका थिए।
यसअघि नेपालका लागि पवन सर्राफले ३२, रोहित कुमार पौडेलले २२, भिम सार्कीले १७ र रित गौतमले १५ रनको योगदान गरेका थिए।
आन्द्राको बलिङ्गमा दुर्गा कुमार, कार्तिक रेड्डी र महेश माधवले समान २ । २ विकेट लिएका थिए ।