
कोलम्बो(श्रीलंका),११ बैशाख(बीबीसी) । श्रीलङ्कामा तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन्।
रनिल विक्रमसिङ्घले देशबाहिर रहेका आतङ्कवादी समूहहरूको सहयोगबिना आइतवारका हमला हुन नसक्ने ठम्याइ सरकारको रहेको बताएका छन्।
मङ्गलवार आईएसले ती आक्रमणको जिम्मेवारी लिएको छ। तर त्यो समूहले कुनै प्रमाण दिएको छैन।
श्रीलङ्का सरकारले ुन्याश्नल तौहिद जमातु नामक स्थानीय इस्लामिक समूहले आइतवारका घटना गराएको बताएको छ।
तर विक्रमसिङ्घले ती आक्रमण स्थानीय प्रयासले मात्र सम्भव नहुने बताउँदै भने, ‘हामीले पहिला नदेखेको खालको तालिम दिइएको छ र त्यही किसिमको समन्वय गरिएको छ।’
उनले सुरक्षा निकायले पनि आक्रमणकारीको विदेशी साठगाँठका बारे अनुसन्धान अघि बढाइरहेको बताए। प्रहरीले आक्रमणमा संलग्न भएको आशङ्कामा ४० जना श्रीलङ्काली नागरिकलाई पक्राउ गरिसकेको छ।
सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको दृश्य
थप आक्रमण हुन नदिनका लागि सङ्कटकाल लगाइएको छ।
सुरक्षाप्रणाली फेर्ने राष्ट्रपतिको घोषणा
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्दै देशको सुरक्षा निकायको पूरै पुनर्संरचना गरिने बताएका छन्।
टेलिभिजनमार्फत् बोल्दै उनले २४ घन्टाभित्र देशका सुरक्षा र प्रतिरक्षा फौजका प्रमुखहरूको फेरबदल हुने जानकारी दिए।
उनले सुरक्षा खतराबारेका आफूलाई कुनै जानकारी नदिइएको बताए।
विस्फोटनका घटनाबारेका पूर्वसूचनाहरू छलफलमा ल्याउन नसकेकाहरू माथि कारबाही गरिने बताए।
उनको यो भनाइसँगै त्यहाँ २४ घण्टाभित्र केही उच्च सुरक्षा अधिकारीहरूलाई सरकारले परिवर्तन गर्नसक्ने ठानिएको छ।
नयाँ सुरक्षा व्यवस्था
श्रीलङ्कामा गृहयुद्धताका अपनाइएका कतिपय सुरक्षा मापदण्डलाई सरकारले फेरि अपनाउन चाहेको र जिल्लास्तरीय सुरक्षा समितिहरू बनाउन लागेको भन्ने समाचार आएको छ।
सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।
अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।
उक्त गृहयुद्धमा ७० हजार देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।
त्यो गृहयुद्धको अन्यपछि त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका खबरहरू आउने गरेका थिए।
बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा पनि त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।