
सियान(चीन),११ बैशाख । नेपाली प्रतिनिधि मण्डल सहित चीनको सियान पुग्नुभएको छ।
राष्ट्रपति भण्डारीलाई सियान अन्तराष्ट्र्यि विमानस्थलमा चिनीया उच्च अधिकारीले स्वागत गरेका थिए।
यस अगाडि नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार चीन प्रस्थान गर्नुभएको थियो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बुधबार विहान ११ बजे भण्डारी चीन प्रस्थान गर्नूभएको थियो।
राष्ट्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन पासाङु, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने तयारी गरेको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाउनुभएको थिएन।
अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ।
दुई दिनमा सियानमा रहेर राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङ पुग्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नुहुनेछ ।
बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
चिनिया राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।
सान्सी प्रान्तको राजधानी सियान हुँदै जानुहुने राष्ट्रपतिले फर्कंदा ल्हासाको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
बीआरआई सम्मेलनमा एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्।
युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्।