
नेपालगन्ज(बाँके),११ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार नेपालगञ्जमा आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गर्नुभएको थियो ।
हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण २०७३ पुसमा पूर्वाञ्चलमा आयोजना भएको थियो । सोही खेलकुद समापनको अवसरमा प्रदेश ५ लाई आठौं राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी दिइएको थियो ।
बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले २०७७ फागुन २० देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपालगन्ज रंगशालामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले राष्ट्रिय प्रतियोगिता खेलकुदका लागि महोत्सव भएको बताउँदै यसले हजारौं खेलाडीको भविष्य निर्धारण गर्ने बताउनुभयो । ‘आठौंको समापन नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘यो तयारीमा जुट्न सबैलाई आग्रह गर्दछु ।’ उहाँले १३औं दक्षिण एसियाली खेलकुद सन् २०१९ भित्रै सम्पन्न हुने आशा व्यक्त गर्नुभयो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ५ गते गर्नुभएको थियो । तर प्रतियोगिताका केही खेलहरू भने चैत २७ गतेदेखि नै सुरु भएको थिए ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलहरू प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन भएका थिए । अधिकांश खेल बाँकेमा भए पनि भौतिक संरचनाका कारण आठौंअन्तर्गतका केही खेल प्रदेश ५ बाहिरका जिल्लामा पनि सञ्चालन गरिएको थियो । जसमध्ये स्क्वास ललितपुर, प्याराग्लाइडिङ र ट्रायथोलन कास्की र गल्फ काठमाडौंमा भएका थिए ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ । यस्तै नयाँ कीर्तिमान बनाउने खेलाडीले भने २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार केही समयपछि खेलाडीको खातामै पठाइने भएको छ ।
प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ७ प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको थियो । जसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला खेलाडी रहेका थिए । सबै खेलका ६ सय ४० प्रशिक्षक र ४ सय ६१ व्यवस्थापक सहभागी भएका थिए ।
खेलमा नेपाली सेना हावी
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले वर्चस्व जमाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका छन् ।
प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितिन् । पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले प्रतियोगिताको तीन सय ७२ मध्ये एक सय ४० स्वर्ण जित्यो । यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्न सफल भयो ।
यसैगरी दोस्रो स्थानमा रहेको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य पदक जित्यो ।
तेस्रो स्थान हासिल गरेको सशस्त्र प्रहरीले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त ग¥यो ।
विभागीय टोलीपछि सर्वाधिक पदक प्रदेश ३ ले जित्यो । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य प्राप्त ग¥यो ।
सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कांस्य पदक जित्न सक्यो । प्रतियोगितामा पहिलो पटक सहभागी एनआरएनए टोलीले ६ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो ।