
कीर्तिपुर(काठमाडौं),१८ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा नेपाली सेनाको टीमलाई ५० रनले पराजित गर्दै नेपाल प्रहरीको टीमले तेस्रो जित हासिल गरेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४८ ओभर ४ बलमा १ सय ६१ रनमा जोड्दा अलआउट हुन पुगेको थियो ।
नेपाल प्रहरीकालागि कप्तान मञ्जित श्रेष्ठले ३६, आरिफ शेखले ३४ , दिपेन्द्रसिंह ऐरीले २९ रन, दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए ।
नेपाल प्रहरीलाई रोक्ने क्रममा नेपाली सेनाका साहब आलमले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।
१ सय ६२ रनको लक्ष्य लिएर ब्याटिड.मा उत्रिएको नेपाली सेनाको टीमले ४२ ओभर ३ बलमा १ सय ११ रनमा जोड्दा सबै विकेट गुमायो ।
नेपाली सेनाका लागि राजु रिजालले १६, हरि चौहानले ३४, रोहित पौडेलले १६ रन बनाए । अरु खेलाडी सस्तैमा आउट भए ।
नेपाली सेनालाई रोक्ने क्रममा ललित राजवंशीले ३ तथा आरिफ शेख र दिपेन्द्र ऐरीले २।२ विकेट लिए ।
यो जितसंगै नेपाल प्रहरी सेमिफाइनलको नजिक पुगेको छ ।
ग्रुप बीमा रहेको नेपाल प्रहरीले हालसम्मका ३ खेलमा सबैमा विजय पाएको छ भने नेपाल आर्मीले ४ खेलमा पहिलो हार ब्यहोर्दै समान अंक जोडेको छ । ग्रुप ए मा सशस्त्र प्रहरी बलले पनि ३ खेलबाट ६ अंक जोड्न सफल भएको छ ।