काठमाडौं, २२ भाद्र । चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आइपुग्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव र परराष्ट सचिव शंकरदास बैरागीले स्वागत गर्नुभएको थियो ।
तीन दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका मन्त्री यीले आफ्ना समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गर्नुको साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा समाजवादी पार्टीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मौसम गडबडीका कारण निर्धारित समयभन्दा दुई घण्टा ढिलो नेपाल आइपुग्नुभएका मन्त्री यी पाकिस्तान हुँदै नेपाल आएका आउनुभएको हो ।
मन्त्री यीका साथमा १२ सदस्यीय चिनियाँ प्रतिनिधि मण्डल पनि नोपल आएको छ । उहाँको भेटघाट भोलिदेखि नै शुरु हुनेछ ।
नेपाल र चीनबीचको दुईपक्षीय वार्ता भोलि होटल याक एण्ड यतीमा हुनेछ। वार्तापछि दुई पक्ष बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।
विदेशमन्त्री वाङ यीको भ्रमणलाई कार्तिकमा हुने भनिएको चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारीको रूपमा हेरिएको छ।
नेपालमा संविधान जारी भएपछि चीनको तर्फबाट भएको यो उच्च स्तरीय औपचारिक राजनीतिक भ्रमण हो।
नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयनमा समेत विदेशमन्त्री वाङ यीले नेपाली पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत रहेको कार्यक्रमबारेका विषयमा कुरा दुई पक्षीय वार्ता हुने बताइएको छ ।


















