काठमाडौं, १८ असोज । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जवर्जस्ती करणीको आरोपमा पर्नुभएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी दर्ता भएको छ ।
पीडित महिलाले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा पुगेर उजुरी दर्ता गराएको प्रहरीले बताएको छ। उजुरी प्राप्त भैसकेको हुनाले प्रहरीले आरोपित पूर्वसभामुख महरालाई अनुसन्धानको लागि पक्राउ गर्ने तयारी पनि थालेको छ । पक्राउ गर्नको लागि प्रहरी नेतृत्वले यस विषयमा गृहमन्त्री रामबहादुर बादललाई जानकारी गराइसकेको छ ।
पीडित महिलाले प्रहरीमा जाहेरी दिने सम्बन्धमा आफ्ना पतिसंग सल्लाह गरेर निर्णय गर्ने बताउनुभएको थियो । तर पति आएपछि उहाँहरुबीच अलग अलग बस्ने निर्णय भएको सार्वजनिक भएको छ ।
सो घटनाको कारण पारिवारिक विखण्डन समेत झेल्नुपरेपछि पीडित महिला अपराधीलाई सजाँय दिलाएर छोड्ने मनस्थितिमा पुगेको देखिएको छ । आईतबार भएको सो घट्ना सोमबार सार्वजनिक भएपछि आरोपित महराले भोलिपल्टै सभामुखको पदबाट राजिनामा दिनुभएको थियो ।
गत आइतबार सभामुख महराको जबरजस्तीमा पर्नुभएकी ती महिलाले आफूमाथि हिंसा भएको मौखिक जानकारी सहित घटनास्थलको परीक्षण गर्न बानेश्वर प्रहरीमा उजुरी गर्नुभएको थियो ।आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको घटनापछि प्रहरी समेत उहाँको डेरामा पुगेको थियो । प्रहरीले डेराको अवस्थाको बारेमा अवलोकन गरी घटनापछिको अवस्थाको स्थलगत फोटो खिचेर लगेको थियो । सो रात संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अगुवा महिला सांसदहरुलाई फोनबाट जानकारी गराउदा पनि अपराधीलाई कारबाही गर्न र पीडितलाई संरक्षण गर्न कुनै कदम नचालिएपछि उहाँ सोमबार आफन घाउचोट सहित सञ्चारकर्मीका सामु प्रस्तुत हुुनुभएको थियो ।
सञ्चारमाध्यममा घट्ना सार्वजनिक भएको भोलिपल्टै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसेर उहाँलाई सभामुख र सांसद पदबाट समेत राजिनामा दिन निर्देशन दिएको थियो । सचिवालयको निर्देशन आए लगत्तै उहाँले पहिले अनुसन्धानकालसम्मका लागि सशर्त राजिनामा दिनुभएको थियो । राजिनामको व्यहोरामा विवाद आएपछि उहाँले सच्याएर अर्को राजिनामा दिनुभयो ।
संसद सचिवालयले उहाँले राजिनामा दिएको सूचना जारी गरेसंगै उहाँ पदमुक्त भैसक्नुभएको छ । उहाँले आफूले प्रयोग गरेका सरकारी गाडीहरु बुझाउन थालेको खबरहरु आइरहेका छन् ।
सभामुख पदबाट महराको राजीनामा आएसँगै सत्तारुढ दलको दबावमा पीडित महिलाले बयान फेरेर आफू डिप्रेसनको विरामी भएको र के बोले भन्ने थाहा नभएको बताउनुभएको थियो ।
महराको जबरजस्ती करणी प्रकरण सतहमा आएपछि प्रहरीले कल डिटेल रेकर्ड , सीसी टीभी फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषण गरिसकेको छ ।
मदिराले लठ्ठ भएर संसद सचिवालयमा कार्यरत महिलाको डेरामा पुग्नुभएका महराले उहाँलाई पन जवर्जस्ती मदिरा पियाएर महिलाको सहमति नलिइकन जबरजस्ती करणी गरेको आरोप महिलाले लगाउनुभएको छ । महिलाले आफ्नो श्रीमान घरमा नभएकोले यस्तो बेलामा नआउन अनुरोध गर्दागर्दै पनि महरा गलत मनशायले उहाँको डेरामा रक्सी र स्न्याक्ससहित पुग्नुभएको थियो ।