काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशन पक्षधरहरुको राष्ट्रिय भेला दोस्रो दिन आज पनि जारी रहने भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको उक्त भेला आज बिहान ११ः०० बजेबाट पुनः सञ्चालन हुन लागेको हो।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला भोलि साउन ३१ गतेसम्म चल्नेछ।
कांग्रेसका पूर्वमहामन्त्री प्रा. डा. शशांक कोइरालाको सभापतित्वमा भइरहेको यो भेलामा सहभागी प्रतिनिधिहरूलाई आफ्नो धारणा राख्न प्रतिव्यक्ति तीन मिनेटको समय निर्धारण गरिएको छ।
आज भेलामा विभिन्न प्रस्तावहरु पेश गरी छलफल हुने बताइएको छ । भेलामा प्रस्तावहरु पेश गर्न विभिन्न विभिन्न नेताहरुलाई संयोजक बनाइएको छ ।
भेलाले संगठन परिचालन र विभिन्न जिम्मेवारी बाँडफाँडका लागि कम्तीमा १४ वटा उपसमितिहरूसमेत गठन गर्ने जनाइएको छ।
सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि नियमित महाधिवेशन पक्षधरहरु उत्साहित बनेका छन्।
करिब पाँच महिनाको विदेशमा स्वास्थ्योपचार गरेपछि यसै भेलामा सहभागी हुने मनशाय सहित कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति देउवा गत बिहीबार स्वदेश फर्किनुभएको थियो। उहाँलाई पार्टी कार्यकर्ताहरुले एअरपोर्टमा भव्य स्वागत गरेका थिए । उहाँलाई बाजागाजा,जुलुससहित नियमित महाधिवेशन पक्षधरहरुको सम्पर्क कार्यालय चुनदेवी ल्याएर सभापतिको कुर्सीमा विराजमान गराइएको थियो ।








