काठमाडौँ, १६ कार्तिक । मधेशी समुदायको उपस्थिति रहेका नेपालका विभिन्न जिल्लाका शहर,बजार र ग्रामीण क्षेत्रमा शनिवार अस्ताउदो सूर्यलाई अर्घ्य दिदै विधिपूर्वक छठी माताको आराधाना गरी छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।
छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार सूर्यास्तको समय पारी कमल पोखरीमा र गुहेश्वरीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सरिक भएर छठीमाईको पूजा सम्पन्न गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शनिबारको दिन छठ पर्वको मुख्य दिन साँझ ४ बजे गुहेश्वरी र ५ बजे कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै पूजाअर्चना गर्नुभएको थियो ।
कमलपोखरीको कार्यक्रममा उहाँले छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु¥याएका अगुवाहरुलाई दोसल्ला ओढाएर सम्मान(पत्र पनि प्रदान गर्नु भएको थियो।
उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो। काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ।
छठ पर्वका अवसरमा देशका मुख्य शहर र तराई मधेशभर सजाइएका ताल तलैयामा र नदी किनारमा सजाएर बनाइएका ब्रतस्थलबाट अस्ताउदो सूर्यलाई अर्घ दिएर भक्तजनले छठी माईको पूजाआरधाना गरेका छन्।
सदभावको पर्वको रुपमा मनाइने छठ पर्वमा तराईका ताल तलैया र र पानी भएका नदीमा भक्तजनको बाक्लो भीड लागेको थियो।
नेपालका तराई क्षेत्रमा सीमित यो चाड केही दशक अगाडिदेखि राजधानी काठमाण्डू तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।
अर्घ्यको विशेषता
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिमा मनाइने यो चाडका अनेक विशेषता छन्।
दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा अर्घ्य दिने गरिएको मान्यता संस्कृतिविद्हरूको रहेको छ।
छठ पर्वमा किसानले आफ्नै खेतबारीमा उत्पादित सामग्रीले अर्घ्य दिन्छन्।
किसानका लागि सूर्यको प्रकाश वरदान हो । प्रकाशविना खेतीपाती हुन सक्दैन।
त्यसैले आफ्नो खेतीबाट उब्जिएको पहिलो उत्पादनले सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ।
पद्धति
पूजाका विभिन्न पद्धति भए पनि मिथिलामा प्रचलित पद्धतिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उदाउँदो बेलाको सूर्यलाई जस्तै महत्त्व दिइएको छ,। उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजन मान्य छ।
उदाउँदो सूर्य सिर्जना र अस्ताउँदो सूर्यलाई विश्राम र पुनरावलोकनको प्रतिकको रुपमा मान्ने गरिन्छ । सूर्यास्तका बेला जलाशयमा उभिएका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाउँछन्।
जलाशय नभएका स्थानमा छठ पर्व मनाइँदैन। छठपूजनका लागि पोखरी, तलाउ, सरोवर, नदी वा समुद्र आवश्यक पर्छ।
सूर्यको ताप पूर्णतः समाप्त भइसकेको अवस्थामा जलाशयमा उभिएका व्रतालुहरूले अर्घ्य दिन्छन् र बिहान पुनः ऊर्जावान् भएर उदाउन प्रार्थना गर्छन्।
ूसूर्यलाई ऊर्जाको प्रतीकका रूपमा पूजा गरिन्छ,ू मैथिल संस्कृतिमा दखल राख्ने रामचन्द्र झा भन्छन्,ूसूर्यको उपासना गर्दा ऊर्जा प्राप्त हुने भएकाले किसानले दुवै साँझ र बिहान पूजा गर्छन्।ू

छठको पूजामा कृषि उपजको प्रयोग हुन्छ
नेपाल र भारतका विशेषतः मिथिला र भोजपुरा क्षेत्रका बासिन्दाले अहिले छठ पर्वलाई संसारभरि फैलाएका छन्।
अमेरिका, मलेशिया, कुवेत, कतार आदि देशमा पनि यो पर्व विधिवत् मनाउने गरिएको छ।
षष्ठीदेवीको पूजा
साँझ दिइने अर्घ्य सूर्यलाई नभई षष्ठीदेवीलाई भएको कतिपयको मान्यता छ।
ूछठको सन्ध्याकालीन अर्घ्य षष्ठीदेवीलाई दिने गरिन्छ,ू साहित्यकार डा। रेवतीरमण लाल भन्छन्, ूसूर्यको पूजा सप्तमीको दिन बिहान गरिन्छ।ू
उनका अनुसार छठमा दुईवटा देवदेवीको पूजा हुन्छ।
छठी परमेश्वरी माताको पूजा नै षष्ठीदेवीको अर्घ्य हो। व्रतालुहरूले साँझ षष्ठीदेवीलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ।
धेरै स्थानमा साँझ प्रयोग भएको पूजासामग्री भोलिपल्ट प्रयोग हुन्छ।
तर कतिपय स्थानमा बिहानका लागि छुट्टै सामग्री तयार पारिन्छ।
छठको पूजासामग्री, अर्घ्य दिने समय तथा स्थल र पूजाविधिमा खासै भिन्नता देखिँदैन।
कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन।
छठको सन्ध्याकालीन अर्घ्य दिने बेला जलाशयनजिकै ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्छन्। व्रतालु तथा अन्य श्रद्धालुहरूले नयाँ लुगा लगाउने प्रचलन पनि रहेको छ।
























