सानेपा(ललितपुर), २४ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति बनाएको छ ।
कांग्रेसको विधान अनुसार “अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरिएको जानकारी कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित उपसमितिमा केन्द्रीय सदस्य सीता गुरुड., नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य,अधिवक्ता त्रय, सिताराम केसी,तेज रावल र केशव रिजाल सदस्य रहनुभएको छ ।
कांग्रेसले समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने,उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने कार्याधिकार दिएको छ ।
त्यस्तै यो समितिलाई उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने गराउने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचार प्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने र उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता र पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने कार्याधिकार पनि दिइएको छ ।


















