Prakash Adhikari November 13, 2019

हेटौडा(मकवानपुर), २६ कार्तिक । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताउनुभयो । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको काङ्ग्रेसले समर्थन नगर्ने बताउनुभयो । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।”

नेपाली काङ्ग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उहाँको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उहाँको आरोप थियो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’
सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उहाँले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने बताउनुभयो ।
‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ? नेता पौडेलले प्रश्न गर्नुभयो । उहाँले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राख्दै भन्नुभयो, प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको छ ।

संबोधनको क्रममा नेता पौडेले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानि छानि दुःख दिने काम गरिरहेको दाबी पनि गर्दै भन्न्ुभयो, ‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुस्ख दिने, पाखा लगाउने काम गरेको छ, दुईतिहाई सत्ताको घोर दुरुपयोग गरेको छ ।’

कम्युनिष्टहरु सिद्धान्त र विचारविहिन भएको बताउदै नेता पौडेलले कम्युनिष्टसंग प्रतिष्पर्धा गर्न विचारका कारण कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्रै अहिले पैसा र मसलको राजनीति भइरहेकोले लोकतन्त्र कमजोर हुँदै गएको पनि बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा शशाङ्क कोइराला, डा रामशरण महतलगायतले बोल्नुभएको थियो । भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ ।रासस

Share Now

Leave a comment.