Prakash Adhikari November 13, 2019

काठमाडौं, २७ कार्तिक । नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच दुई देशको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीलाई विस्तार गर्ने विषयमा गम्भीर छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो।

बंगलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने बचन दिनुभएको छ।

दुबैदेशबीच वाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ। नेपाललाई बंगलादेशले उपलब्ध गराउँदै आएका बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पुर्‍याउने बिषयमा पनि छलफल भएको छ । व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।

जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताउनुभयो।

भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपतिलाई नेपालको भ्रमण गरी द्धिपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुको साथै व्यापार र सहयोग अभिबृद्धिमा चासो व्यक्त गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बंगलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिनुभएको थियो ।

Share Now

Leave a comment.