काठमाडौं, २७ कार्तिक । यू १९ का प्रतियोगितामा प्रतिस्पर्धा गर्न एकै दिन राजधानी काठमाडौंबाट प्रस्थान गरेका नेपाली यू १९ का महिला र पुरुष टीम मध्ये चीनको बी एण्ड आर प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको नेपाली टीमले आयोजक चीनविरुद्धको खेलमा पहिलो जित निकालेको छ भने भारतको हैदराबादमा प्रतिस्पर्धा गरिरहेको नेपाली यू १९ पुरुष टीमलाई जित निकाल्न निकै कठिनाईको सामना गर्नु परको छ ।
चीनमा भैरहेको ‘बी एण्ड आर कप’ टि–२र्० क्रिकेट प्रतियोगिताको अन्तर्गत बुधबार भएको खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले चीनलाई ८ विकेटले पराजित गरेको छ। यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपाल थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो।

खेलमा चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ३८ रन बनाएर पूरा गर्यो ।
प्रतियोगितामा नेपालकी र्इश्वरी बिष्ट उत्कृष्ट खेलाडी घोषित भइन् उनले चीनको ३ विकेट हात पारेकी थिईन्।
प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल विहिबार म्यानमारसंग तथा शुक्रबार मलेसियासंग खेल्नेछ। प्रतियोगितामा नेपाल लगायत चनि, मलेसिया, म्यानमार, थाईल्याण्ड गरी ५ टीम सहभागी छन्।
पुरुष टीमलाई जित निकाल्न पर्यो कठिनाई
यता भारतको हैदराबादमा भैरहेको अन्डर १९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपाली अन्डर १९ टीमले लगातार दोश्रो पराजय ब्यहोरेको छ ।
राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा भारतीय अन्डर १९ टीमले नेपाली अन्डर १९ लाई १ सय ७ रनले पराजित गर्यो। प्रतियोगिता अन्तर्गत नेपाल पहिलो खेलमा भारत यु १९ ‘सी’ संग १० विकेटले पराजित भएको थियो। नेपालले तेश्रो खेल भारत यू १९ ‘बि’ टीमसंग शुक्रबार खेल्नेछ।
खेलमा टस हारेर ब्याटिंग गर्दै भारत यु १९ ए ले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पुरै ५० ओभर ब्याटिंग गरेता पनि १सय ४० रनको योगफल बनायो ।

नेपालकालागि विशाल बिक्रम केसीले सर्वाधिक ७१ रन बनाए । उनले १ सय २४ बलमा ११ चौका प्रहार गरे। शेर मल्ल २१ रन बनाए । अरुण ऐरि ७ बनाएर आउट भए भने कप्तान रित गौतमले ५ रन,खडक बहादुर बोहरा ३ रन बनाए । लोकेश बम, कुशल मल्ल र हरि बहादुर चौहान खाता नखोली आउट भए।
खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको भारत ‘ए’ ले ४८.२ ओभरमा उसले २ सय ४७ रनमा सबै विकेट गुमाएको थियो।
भारतको लागि ध्रुभ जुरॆल ७४ रन, नितिश रेड्डी ३० रन, साइ भारध्वज सुदर्शनले ३४ रन,यशस्वी जैसवालले ३३ र कृतज्ञ कुमार सिंहले २६ रन बनाए ।
नेपालको बलिङ्गमा शेर मल्लले सर्वाधिक ३ , आकाश चन्दले २, तथा प्रतिश जिसी र हरि बहादुर चौहानले समान १ । १ विकेट लिए।


















