Prakash Adhikari November 13, 2019

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २७ कार्तिक(बीबीसी)। उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बताइएको छ।

विभिन्न स्थानमा बाक्लो हिउँ झरेको बताइएको छ।

कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना छ।

खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएको बताइएको छ।

केही क्षेत्रमा विद्यालयहरू पनि बन्द गरिएका छन्।

नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ।

सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ।

शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ।

अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्य स्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ।

Share Now

Leave a comment.