नयाँ दिल्ली(भारत), २८ कार्तिक ।भारतले हालै प्रकाशनमा ल्याएको नयाँ नक्सामा नेपालको कालापानी,लिपुलेक र लिम्पियाधुरा लगायतका भूमि भारततिर पारिएको विरोधमा नेपाली जन सम्पर्क समिति भारतले नेपाली राजदूतावास भारत र भारतीय विदेश मन्त्रालयमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय कार्य समितिका आमान्त्रित सदस्य बालकृष्ण पाण्डेको अगुवाईमा गएको एक प्रतिनिधि मण्डलले यस विषयलाई शान्त कुटनीतिको माध्यमबाट समाधान गर्न अनुरोध समेत गरेको थियो ।
प्रतिनिधि मण्डलले नेपालको भूमि कुनैपनि बहानामा अतिक्रमण गर्ने कार्यले प्रवासमा बसेका लाखौँ नेपालीहरुको भावनामा चोट पुगेको उल्लेख गर्दै कूटनैतिक ढङ्गले समस्याको समाधान खोजी दुवै देशबीचको सदभाव र मित्रता यथावत कायम गर्न अनुरोध गरेको छ ।
नेपाली भूमि अतिक्रमणको खबरले ३ करोड नेपाली जनतालाई दुःखित बनाएको उल्लेख गर्दै यस सम्बन्धमा नेपाली कांग्रेसका सभापति र पार्टीले पनि आफ्नो सरोकार संबन्धित निकायमा व्यक्त गरिसकेको जनाएको छ ।


















