Prakash Adhikari November 15, 2019

 

ढाका(बंगालादेश), २८ कार्तिक । वंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाली महिला भलिबल टिमले जितेको छ ।

नेपालले बिहीबार भएको फाइनल खेलमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेर सो उपाधि जितेको हो ।

नेपालले पहिलो सेट २५ – १३, दोस्रो सेट २५ -१२ र तेस्रो सेट २५–८ ले जित्यो।

प्रतियोगितामा नेपालको यात्रा अपराजित रह्यो । नेपाली चेलीहरुले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुम्न दिएनन् ।

समूह चरणको अपराजित यात्रामा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो।

नेपाली महिला भलिबल टिमले यस पहिले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको रजतपदक थियो।

महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको २० वर्षपछि नै ऐतिहासिक उपाधि जितेको छ तर धेरै पहिलेदेखि धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर र नियमितमा सहभागिता जनाउदै आएको पुरुष टिमले यस्तो प्रतिष्ठित उपाधि जितेको छैन् ।

Share Now

Leave a comment.