अबुधावी (संयुक्त अरब ईमिरेट्स), २९ कार्तिक । संयुक्त अरब ईमिरेट्स(युएई)मा आज देखि सुरु हुने दोश्रो संस्करणको टि १० क्रिकेट लिगमा नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का आबद्ध टीम अबुधाबीले टीमको पहिलो खेल खेल्दैछ भने अर्का खेलाडी सन्दीप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले पहिलो खेल शनिवार खेल्ने भएको छ ।
आजदेखि सुरु हुने टी १० प्रतियोगिता नोभेम्बर १५ देखि २४ सम्म अबुधाबीमा संचालन हुनेछ। प्रतियोगितामा ८ टीम सहभागी छन् । सहभागी टिमलाई दुइ समूहमा विभाजन गरेर राउण्ड रोबिन लिग खेलाइदै छ । यसपछि सुपर लिग खेलाइने छ। सुपर लिगमा समुह चरणको अंक समेत जोडिने छ।
सुपर लिगमा पहिलो देखि चौथो नम्बरमा हुने टीम बीच प्ले(अफ खेल संचालन हुनेछ।
पारस खड्का आबद्ध ‘टिम अबुधाबी’ रहेको समूह ‘बी’ मा मराठा अरबियन्स्, नर्थन वारियर्स, कलन्दर्स रहेका छन्। यस्तै सन्दीप लामिछाने आबद्ध टीम कर्नाटका टस्कर्समा बांग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स र दिल्ली बुल्स रहेका छन्।
नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का कुनै पनि विदेशी लिगमा खेल्न लागेको यो पहिलो अवसर हो। सन्दीपले भने यसबीचमा दर्जनौ लिगमा खेलिसकेका छन् । उनले गत वर्ष टि १० लिगमा केरला नाइट्सबाट खेलेका थिए। यो पटक केरला टिम लिगमा रहेको छैन।
नेपाली अल राउण्डर पारस खड्काको टीम अबुधाबी इंग्ल्याण्ड क्रिकेटर मोइन अलिको कप्तानीमा रहेको छ । टीममा लुक राइट, बेन लाफ्लिन, मोहम्मद आमिर, ह्यारी गुरने, लुइस ग्रेगरी, निरोशन डिकवेला, एलेक्स डेभिस, कोरे एण्डरसन, रोहण मुस्तफा, पारस खड्का, रिचर्ड ग्लिसन, रामिज शाहजाद हेडन वाल्स खेलाडीहरु रहेका छन्। टिमको प्रशिक्षक इंग्ल्याण्डका पूर्व प्रशिक्षक ट्रेभर बेलिस रहेका छन्।
अर्का नेपाली खेलाडी सन्दीप लामिछाने रहेको कर्नाटका टस्कर्सको कप्तानी दक्षिण अफ्रिकी क्रिकेटर हाशिम अमलाले सम्हालेका छन् । उनको टीममा मर्लान स्यामुएल्स, शापुर जद्रान, शाफिक्कुल्लाह शफिक, नाथन रिम्मिंगटन, असद पठन, रोस व्हाइटले, जोन्सन चार्ल्स, इभिन लुइस, फाबियन एलेन, एहमद राजा, सन्दिप लामिछाने, केसरिक विलियम्स, प्याट्रिक ब्राउन रहेका छन् ।
टीम अबुधाबीले आफ्नो पहिलो खेल नोभेम्बर १५, शुक्रबार राति नेपाली समय १० ः ४५ बजे राति शहिद अफ्रिदी कप्तानीको टिम कलन्दर्ससंग खेल्दै गर्नेछ। उसले नोभेम्बर १७ (आइतबार) नार्थन वारियर्ससंग र नोभेम्बर १८ ( सोमबार) मराठा अरबीयन्ससंग खेल्नेछ ।
त्यस्तै सन्दीपआबद्ध कर्नाटका टस्कर्सले नोभेम्बर १६ (शनिबार) दिल्ली बुल्ससंग,नोभेम्बर १७ (आइतबार) बंगला टाइगर्ससंग र नोभेम्बर – १८ (सोमबार) मराठा अरवियन्ससंग खेल्नेछ ।


















