काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिनुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिँदै उहाँले बुधबार काठमाडौं उपत्यक भन्दाबाहिर कार्यक्रम नबनाउन पनि निर्देशन दिनुभएको छ।
‘कोही पर्नुहोला, कोही नपर्नुहोला। भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु,’ प्रधानमन्त्रीले बैठकमा भन्नुभयो, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला।’
बैठकमा को–को मन्त्री रहने, को हट्ने भन्नेबारे भने प्रधानमन्त्री ओलीले कुनै जानकारी दिनुभएन।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी दिए पनि यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी हुन बाँकी छ । मंगलबार दुवै अध्यक्षबीच भेटवार्ता भएको थियो, तर व्यक्तिका विषयमा सहमति हुन सकेन।
नेकपाले बुधबार बिहान सचिवालय बैठक बोलाएको छ त्यसमा सहमति जुट्ने संभावना पनि छ ।
नेकपाका एक वरिष्ठ नेताका अनुसार महिला बालबालिका तथा समाजकल्याण मन्त्री, सामान्य प्रशासन मन्त्री, कृषि मन्त्री, उद्योग मन्त्री, श्रम मन्त्री,खेलकूद मन्त्री फेरिने संभावना रहेको छ ।


















