कोहलपुर(बाँके), २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि स्थानीयबासीले गरेको प्रदर्शनका क्रममा प्रहरीसंग दोहोरो भीडन्त भएपछि स्थिति सामान्यीकरण गर्न प्रशासनले कर्फ्यू लगाएको छ ।
कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रकृति चन्दलाई ठक्कर ट्रकले ठक्कर दिएर घाइते बनाएपछि विद्यार्थी, स्थानीय र बालिकाका आफन्तले गरेको प्रदर्शनका क्रममा दिनभरप्रदर्शन गरेका थिए ।
प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएको हो। कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जनाएको छ।
प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा ३ विद्यार्थी घाइते भएका छन्।
शिक्षक ऋषि देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा प्रहरीको गोली लागेको छ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म भएको झडपमा परी झन्डै ४० जना घाइते भएका थिए।
कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन्।
घाइते भएकाहरूमध्ये प्रहरीलाई ढुंगामुढाबाट चोट लागेको छ भने प्रदर्शनकारीलाई रबरको गोली पनि लागेको छ।
आक्रोशित विद्यार्थीले प्रहरीको काहेलपुरस्थित क्यान्टिनमा आगजनी गरेपछि प्रहरीले प्रहरीले झन्डै दुई दर्जन हवाई फायर गर्यो। त्यतिकै संख्यामा अश्रुग्यास हान्यो।
प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन्। सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्याएको छ।
झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घाइते भएका छन्। घाइते हुने प्रहरीमा अमर खड्का, रवीन्द्र शर्मा, होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रसाद आचार्य, खुमबहादुर बिष्ट र धनबहादुर बिक छन्। उनीहरू सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।



















