अक्ल्याण्ड(न्युजिल्याण्ड),२३ मंसिर(बीबीसी) । न्यूजील्यान्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ।
प्रहरीका अनुसार २३ जनालाई उद्धार गरिएइको छ। हताहत हुने व्यक्तिको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ।
उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। घाइतेहरूको शरीर पोलेको छ।
Checked photo timestamps. Last photo from me standing on the land was 13:49; this first photo of the eruption was 14:12, about a minute or two into the eruption. pic.twitter.com/hyqQuO4vNq
— Michael Schade (@sch) December 9, 2019
देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।
उक्त टापु निजी स्वामित्वमा रहेको छ र पर्यटन गन्तव्यस्थल मानिएको छ।
उक्त स्थानमा सक्रिय ज्वालामुखीहरू छन्।
न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ।
उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छ।

विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ।
सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्।
उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ।
धूँवाको मुस्लो
माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताए।

लाईभ फीडबाट प्राप्त फोटोमा विस्फोट हुनुभन्दा केही मिनेट अगाडि त्यहाँको क्रेटर देखिन्छ
विस्फोट हुनुभन्दा केही क्षण अगाडि ह्वाईट आईलयान्डको क्रेटरको घेरा छेउछाउमा पर्यटकहरू घुमिरहेको देखिन्थ्यो।
सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो।
त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्।
ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्कासि विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ।
“सुरुमा त्यहाँ झन्डै १०० जना मानिस रहेको ठानिए पनि अहिले हामीले त्यहाँ विस्फोटको समयमा झन्डै ५० जना रहेको विश्वास गरेका छौँ,” प्रहरीले भनेको छ।
“केहीलाई उद्धार गरेर तटमा ल्याइएको छ। तर अझै पनि केही चाहिँ टापुमै रहेका र सम्पर्कविहीन भएका छन्,” प्रहरीले जनाएको छ।
स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो।
ह्वाईट आईल्यान्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन्। तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन।


















