Prakash Adhikari January 12, 2020

 

हेटौडा(मकवानपुर), २७ पौष । प्रदेश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज (आइतबार) प्रदेशसभामा मतदान हुँदै छ।
मतदान बिहान ९ वजेदेखि ११ बजेसम्म हुने कार्यतालिका छ।

प्रदेशको स्थायी राजधानीका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुन लागेको हो। राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका छन्।

सत्तापक्ष र प्रतिपक्षले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको छ। नाम ‘बागमती’ मा सबैको सहमति जुटेको छ।

प्रदेश सभाको शनिबारको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव दर्ता गर्नुभएको छ।

उहाँको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङले समर्थन गरिसक्नुभउको छ ।

विवेकशील नेपाली दलका रमेश पौड्यालले धुलिखेललाई स्थायी राजधानी कायम गरियोस भन्ने छुट्टै प्रस्ताव दर्ता गर्नुभएको छ।

पौडेलको प्रस्तावमा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन छ।

प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने कांग्रेस संसदीय दलका नेता बानियाँले गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङले समर्थन गरेका गर्नुभएको छ।

प्रदेश सभामा नेकपा, काग्रेस, विवेकशील नेपाली दल, नेपाल मजदुर पार्टी, साझा पार्टी, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी १ सय १० सांसद् छन्।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश सभामा नेकपा एक्लैसँग दुईतिहाइ बहुमत भएकाले प्रदेशको राजधानी हेटौँडा पारित हुने निश्चत प्रायः छ।

Share Now

Leave a comment.