Prakash Adhikari November 4, 2026

काठमाडौं, १८ कार्तिक। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा डा. प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयद्वारा गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्नुभएको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीसँग यसअघि कृषि विकास बैंक लिमिटेडमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकको रूपमा लामो समय सफल नेतृत्वदायी कार्य गरेको अनुभव रहेको छ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबीए तथा बीएड हासिल गर्नुभएको छ। विभिन्न वित्तीय संस्था, नियमनकारी निकाय र व्यवस्थापकीय क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव सँगाल्नुभएका सुवेदीले नेको इन्स्योरेन्स लगायतका संस्थामा सञ्चालक समितिको सदस्यको रूपमा समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ।

बुधबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्दै सेयर बजारको नियमन, सुशासन र समग्र पुँजी बजारको विकासका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देश दिनुभएको छ।

Share Now