Prakash Adhikari January 20, 2020

पोखरा(कास्की), ६ माघ । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परि चारदिनदेखि बेखबर रहेकामध्ये चार जना चिनिया पर्यटकहरु सोमबार सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा मनाङको थोरङला पास गर्ने क्रममा हिमपातमा परेर बेखबर भएका चार जना चिनिया पर्यटकहरु थोरङला पास गरि मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका टिकाराम पौडेलले जानकारी दिनुभएको छ ।

थोरङला पासको लागि पुस २७ गते गएका उनीहरु लामो समयसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

उनीहरुले हिमपात र हिउँपहिरोको कारण जोखिम मोल्दै मुस्ताङ आइपुगेको स्थानीय प्रहरीलाई जानकारी दिएका छन्।

यता अन्नपूर्ण आधार शिवीरमा आएको हिमपहिरो र हिमपातमा परी हराएका चार कोरियाली र तीन नेपाली नागरिक अझै पनि बेपत्ता छन्।

अन्नपूर्ण आधार शिविर नजिकैको हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन्।

केही पर्यटकहरु पहिरो छलेर सुरक्षित ठाउँमा आउन सफल भएपनि यी सात जना भने पहिरोकै कारण बेपत्ता छन्।

बेपत्ता हुनेमा नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन छन् ।

बेपत्ता भएका कोरियालीको जानकारी लिन नेपालस्थित कोरियाली राजदूत सहित कोरियाली पर्यटकका आफन्तको टोली पोखरामा आएको छ । आफन्तहरुको टोली आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ।

कोरियाली टोलीले सोमबार रेस्क्यू टोली सहित घटनास्थलमा खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी दिएको छ।

Share Now

Leave a comment.