Prakash Adhikari January 20, 2020

 

काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजिनामा दिने घोषणा गर्नु भएको छ ।

सम्बोधनका क्रममा उहाँले सभामुख चनयका लागि मार्ग प्रसस्त गर्न आफू उपसभामुखबाट हट्ने निर्णयमा पुगेको घोषणा गर्नुभयो।

उहाँले ‘सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन’ सम्बोधन गरेको उल्लेख गर्नुभएको थियो।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय आइतवार गरेपछि संसद्‌को बैठक बसेको हो।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले भन्नुभयो, ‘लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरू जनताको सुक्ष्म निगरानीमा हुने गर्छ।’

‘दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा रहुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ।’

‘उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन, संविधान र कानुनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ। तर कसैले पनि आफ्नो जराहरू बिर्सनु हुदैँन भन्नेमा म सचेत छु।’

नेकपाबाट सांसद् बन्नुभएकी तुम्बाहाम्फे उपसभामुख निर्वाचित हुनुभएको थियो ।

राजीनामाबारे अडान

कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिन बाध्य हुनुभएको थियो।

त्यसपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकहरूको अध्यक्षता गर्नुभएको थियो।

सभामुख बनाउने प्रतिबद्धतापश्चात् मात्र राजीनामा दिने अडान लिनुभएकी उहाँले पटकपटक नेतृत्वको सार्वजनिक रूपमै पनि आलोचना गर्नुभएको थियो।

तर तत्कालीन माओवादी र एमाले एकीकरण भएर बनेको नेकपाभित्र पूर्वमाओवादी वा पूर्वएमालेमध्ये कसबाट सभामुख बनाउने भन्ने विषयमा लामै माथापच्ची चलेको थियो।

आइतबार मात्र पार्टीका दुई अध्यक्षहरू ओली र प्रचण्ड बसेर सहमति गरेपछि नेकपा सचिवालय बैठकले पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख पद तानातान हुँदा प्रतिनिधि सभाको बैठक एक महिनादेखि बस्न सकेको थिएन।

सभामुखको निर्वाचन भएपछि भने अब संसद्‌ नियमित चल्ने ठानिएको छ।

सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ।

Share Now

Leave a comment.