Prakash Adhikari March 17, 2020

काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीकावरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण सरकार सञ्चालनमा असर गर्ने वा नगर्नेबारे दलले चिकित्सकहरूसँग परामर्श गर्ने बताउनुभएको छ ।

शल्यक्रियापछि प्रधानमन्त्रीले आराम गर्नुपर्ने टिप्पणी हुन थालेपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनालले त्यस विषयमा छलफल गर्न पार्टीको सचिवालय बैठक छिट्टै बोलाउन आफूले अध्यक्ष प्रचण्डलाई आग्रह गरेको जानकारी दिनुभएको छ।

‘डाक्टरहरूसँग पनि सल्लाह गर्छौँ, उहाँलाई आरामको आवश्यकता छ भने पार्टीले त्यहीअनुसार सोच्छ’ नेता खनालले भन्नुभयो ।

त्यसबारे स्वयम् प्रधानमन्त्री ओलीसँग पनि सल्लाह गरिने उल्लेख गर्दै उहाँले सचिवालयको बैठक एकदुई दिनभित्रै गर्नुपर्ने बताउनुभयो।

उहाँ भन्नुहुन्छ, ‘उहाँको स्वास्थ्यबारे सरोकार राख्नुपर्छ, सल्लाह गर्नुपर्छ। वास्तवमा के हो स्वास्थ्य स्थिति, उहाँले केही समय आराम गर्ने हो कि, कार्यवाहक बनाएर काम गर्ने स्थिति छ कि अथवा उहाँले नै लगालग काम गर्ने अवस्था छ कि?’

मन्त्रिपरिषद् बैठक प्रभावित

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यका कारण राज्य सञ्चालनको कुनै काम प्रभावित नभएको दाबी गर्नुभएको छ।

उहाँका अनुसार प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार मन्त्रीहरूले काम गरिरहेका छन्, सचिवहरूसँग मुख्य सचिवले समन्वय गरिरहेका छन् र आवश्यक कामको निम्ति उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीसँग परामर्श गर्ने गरेका छन्।

स्वेदशमै रहँदा प्रधानमन्त्रीले कार्यवाहक जिम्मेवारी दिने प्रावधान नभएको बताउँदै उहाँले भन्नुभयो, ‘कामको कार्यबोझको हिसाबले बढी धपेडी उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीले गरिरहनुभएको छ।’

तर सोमवार मन्त्रिपरिषद्को बैठक भएन।

थापाले प्रत्यारोपणपछिको अवस्थालाई दृष्टिगत गरेर बालुवाटारस्थित बैठक कक्षमा केही परिमार्जन गर्नु परेकाले ढिलो भएको बताउनुभयो।

प्रधानमन्त्रीले छिट्टै मन्त्रिपरिषद् बैठक डाक्ने उहाँको भनाइ छ।

प्रधानमन्त्रीको राजीनामा चाहनेहरू

प्रधानमन्त्री ओली शल्यक्रिया गरेर फर्किएलगत्तै सार्क देशका सरकार र राष्ट्रप्रमुखहरूसँगको भिडिओ वार्तामा सहभागी हुनुभयो। पूर्ण स्वस्थ नहुँदै उहाँले त्यसो गरेर आफ्नो आत्मविश्वास र दृढताको सन्देश दिएको धेरैले ठाने।

तर विगतमा बिरामी अवस्थालाई ओझेलमा पारिदिने गरेको उनको आत्मविश्वास यस पटक उहाँको मुहारमा हाबी हुन नसकेको ठान्नेहरूले त्यसलाई प्रधानमन्त्रीको ‘दुस्साहस’को रूपमा लिएको पाइयो। नेकपा स्थायी समितिका एक सदस्यले प्रधानमन्त्रीलाई आराम गर्न सल्लाह दिन सकिने अवस्था पार्टीभित्र नरहेको बताउनुभएको छ।

ओली
आन्तरिक समीकरणतर्फ सङ्केत गर्दै वरिष्ठ नेता माधवकुमार नेपालको पक्षका नेताले प्रधानमन्त्रीलाई त्यसबारे उहाँका निकटस्थहरुले त्यस्तो सल्लाह दिन सक्ने अवस्थामा नरहेको बताउनुभयो।

तर सल्लाहकार थापाका अनुसार सार्कको अध्यक्ष आफू रहेकाले ‘डिस्चार्ज भएकाले म जानुपर्छ भनेरु प्रधानमन्त्री भिडिओ कन्फ्रेन्समा सहभागी हुनुभएको हो।’

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आराम गर्नुपर्छ भन्ने कुरा, प्रधानमन्त्री भएको देख्न नचाहने मान्छेहरूको टीकाटिप्पणी हो। उहाँको स्वास्थ्य समस्या उनीहरूले सोचेजस्तो, ठानेजस्तो होइन।’

बा ! धपेडी नगर्नूस्

यसअघि प्रधानमन्त्री स्वास्थ्य उपचारका निम्ति सिङ्गापुर जाँदा नेपाली कांग्रेसका नेता सांसद गगन थापाले प्रधानमन्त्रीलाई विश्राम गर्न आग्रह गर्नुभएको थियो।

उसबेला प्रधानमन्त्री बिग्रिँदो स्वास्थ्यकाबीच पनि सक्रिय हुनुहुन्थ्यो। धेरैलाई उहाँको आत्मविश्वासका अगाडि उहाँको बिमार ओझेलमा परेको ठानिन्थ्यो।

तर नेता थापाले देश र मानवीय कुरा भएको उल्लेख गर्दै भन्नुभएको थियो, ‘मैले धेरै पटक नेकपाका युवा सांसदहरूले प्रधानमन्त्रीलाई ुबाु भनेर सम्बोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी भएको भए के भन्थ्यौँ( बा, धपेडी नगर्नूस्। बा, आराम गर्नूस्। बा, विश्राम लिनूस्।’

‘हामी हाम्रो बालाई त्यसो भन्छौँ, प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौँ ?’

‘त्यो गल्ती र अन्याय’  हिजो आफूहरूले पनि गरेको र सबैभन्दा बढी गल्ती प्रधानमन्त्रीका नजिक बस्नेहरूले गरेको उल्लेख गर्दै उनले भने, ‘यो अन्याय तपाईँहरू नगर्नूस्, यो गल्ती तपाईँहरूले नदोहोर्‍याउनूस्।’

ओली
उहाँले प्रधानमन्त्रीलाई विश्राम गर्न दिन नेकपाका नेताहरूलाई पनि आग्रह गर्नोुभएको थिय।

थापाले भन्नुभएको थियो , ‘किनकि नेपालको आन्दोलन, शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्‍याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको। यत्ति मात्र होइन, स्वाभिमानको लडाइँमा एउटा अथक योद्धाको रूपमा काम गर्नु भएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रूपमा देख्न चाहन्छौँ।’

धपेडी छैन
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यप्रतिको शुभेच्छालाई स्वाभाविक रूपमा लिदै भन्नुभयो, ‘उहाँका कारणले त्यस्तो धपेडी छैन। एक महिना बढी ख्याल गर्ने हो, त्यसपछि कम हुँदै जान्छ।’

चिकित्सकले दिएको अनुमतिअनुसार नै प्रधानमन्त्रीले काम गरिरहेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘किताबमा पढेर चिकित्सक भएकाहरूको एउटा टिप्पणी होला, तर उहाँको उपचारमा संलग्न चिकित्सकहरूले कम दौडधुप, धपेडी हुनुपर्छ भन्ने राय स्वाभाविक रूपमा छ। प्रधानमन्त्रीको निजी चिकित्सकले सङ्क्रमणबाट जोगिन ख्याल गर्नुपर्छ, विशेष आराम चाहिने होइन भन्नुभएको छ।’

प्रधानमन्त्री ओलीले पहिले प्रत्यारोपण गराएको मिर्गौलाले काम गर्न छाडेपछि दोस्रो प्रत्यारोपण गराउनुभएको हो ।

ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने उहाँको दलको निर्णय छ। त्यसैले उहाँलाई आराम वा विश्राम गर्न सल्लाह दिँदा त्यसलाई राजनीतिक रूपमा हेरिने सम्भावना पार्टीभित्र रहेको कतिपय नेताहरूको दावी छ ।(बीबीसीबाट)

Share Now

Leave a comment.