Prakash Adhikari March 17, 2020

 

काठमाडौं, ४ चैत्र । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री के. पी. शर्मा ओलीको प्रत्यारोपण प्रक्रियाको वैधानिकतामा प्रश्न उठाउन थालिएको छ ।

भ्रष्ट्राचार र वेथितिविरुद्ध थालिएको नेपालका लागि नेपाली राष्ट्रिय अभियानका अगुवा तथा अधिवक्ता द्धय बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले उक्त प्रत्यारोपणको समग्र वैधानिक पक्षलाई उजागर गर्ने सम्बन्धमा  त्रिवि शिक्षण अस्पतालसंग ६ बूँदे सूचना माग गर्नुभएको छ ।

Image may contain: text

उक्त सूचनाका आधारमा आउने जवाफलाई अनुमान गर्दा नजिकको नातेदारबाहेक अन्य व्यक्तिको अंग प्रत्यारोपणलाई मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले निषेध गरेको देखिन्छ ।

प्रधानमन्त्रीलाई मृगौला दान गर्ने ३२ बर्षीय समीक्षा संग्रौलाको सम्बन्धमा उहाँलाई नातामा भाञ्जी पर्ने भनिएको छ । ऐनले परिभाषित गरेको नजिकको नातेदारले यस्तो पर्नेलाई समेट्दैन । त्यसमा स्पष्ट किटानीसाथ भनिएको छ,(ठ) “नजिकको नातेदार” भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाँई, जेठान सम्झनु पर्छ ।

तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रहि आएको हुनु पर्नेछ ।

 

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन,  २०५५ मा अंग प्रत्यारोपणमा यस्तो व्यवस्था छ :

परिच्छेद–४ अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५

१३. अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न नहुने :

अङ्ग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्नु हुँदैन ।

१४. अङ्ग झिक्न तथा अङ्ग प्रत्यारोपण गर्न सकिने :

यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मात्र मानव शरीरबाट अङ्ग झिक्न र एक मानव शरीरबाट अङ्ग झिकीnअर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।

१४क.अङ्ग दान दिन सक्नेः

(१) देहायको व्यक्तिले विरामीलाई आफ्नो अङ्ग दान दिन सक्नेछ :–

(क) विरामीको नजिकको नातेदार,

(ख) दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा अङ्ग दान दिने वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिले सो व्यहोरा खोली स्वीकृतिको लागि तोकिए बमोजिमको समिति समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त भएको निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा सो समितिले सम्बन्धित व्यक्तिहरुलाई अङ्ग दान वा अङ्ग ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।

(४) उपदफा (१) को खण्ड (ख) बमोजिम अङ्ग प्रत्यारोपण गर्ने कार्य समानान्तर रुपमा शल्यचिकित्सा गरी एकै पटक गर्नु पर्नेछ ।

१५. जीवित व्यक्तिको शरीरबाट अङ्ग झिक्न सक्ने :

(१) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र जीवित व्यक्ति (दाता) को शरीरबाटअङ्ग झिकी त्यस्तो अङ्गसम्बन्धि विरामीकोशरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।

(क) कुनै विरामीको शरीरको कुनै अङ्ग काम नलाग्ने गरी नासिएको छ र त्यस्तो बिरामीको जीवन रक्षाको लागि निजको शरीरको नासिएको अङ्गको सट्टा अर्को अङ्ग प्रत्यारोपण गर्न आवश्यक छ भनी कम्तीमा दुई जना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको,

(ख) खण्ड (क) बमोजिमको विरामीलाई दाताले आफ्नो नजिकको नातेदारको सहमति सहित स्वेच्छाले अङ्ग दान गर्न लिखित मन्जुरी दिएको, तर कुनै दाताको नजिकको दुईजना नातेदार नभएको अवस्थामा नजिकको एकजना नातेदारको सहमति लिएर पनि स्वेच्छाले अङ्ग दान गर्न लिखित मन्जुरी दिन सकिनेछ ।

(ग) खण्ड (ख) बमोजिम स्वेच्छाले अङ्ग दान गर्न मन्जुरी दिने दाता अठार वर्ष उमेर पूरा भएको,

(घ) खण्ड (ख) बमोजिम मन्जुरी दिने दाताको शरीरको जोडी अङ्ग मध्ये कुनै एक अङ्ग झिक्दा दाता त्यसैको कारणले तत्कालै नमर्ने र स्थायी रुपबाट अशक्त वा अपाङ्ग नहुने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको,

(ङ) दाताको शरीरबाट झिक्न खोजिएको तन्तु पुनर्विकास हुन सक्ने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको ।

(२) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही अठार वर्ष उमेर पूरा नभएको व्यक्तिको शरीरमा कुनै तन्तु पुनर्विकास हुन सक्ने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएमा त्यस्तो व्यक्तिको शरीरबाट उक्त तन्तु झिक्न यस दफाले कुनै बाधा पुयाएको मानिने छैन ।

(३) कुनै व्यक्तिको उपचारको सिलसिलामा निजको शरीरमा रहेको काम नलाग्ने अङ्ग झिकेर फयाक्न यस दफाले कुनै बाधा पुयाएको मानिने छैन ।

(४) उपदफा (१) को खण्ड (ख) बमोजिम सहमति तथा मन्जुरी दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(५) उपदफा (१) को खण्ड (ख) बमोजिम दिएको मन्जुरी दाताले चाहेमा फिर्ता लिन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम दाताले मन्जुरी फिर्ता लिएमा अङ्ग ग्रहण गर्ने व्यक्तिले दाता उपर कुनै प्रकारको क्षतिपूर्ति दावी गर्न पाउने छैन ।

१८. सम्भावित खतराप्रति सजग गराउनु पर्ने :

यस ऐन बमोजिम चिकित्सकले अङ्ग झिक्दा तथा अङ्ग प्रत्यारोपण गर्दा दाता र अङ्ग ग्रहण गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरी त्यसबाट निजहरुको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर तथा खतराप्रति दुवै पक्षलाई जानकारी गराउनु पर्नेछ ।

१९. अङ्ग ग्रहण गर्ने व्यक्तिको मन्जुरी हुनुपर्ने :

(१) यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिको पनि मन्जुरी हुनु पर्नेछ ।

(२) अङ्ग ग्रहण गर्ने व्यक्ति नाबालक तथा निर्णय गर्न नसक्ने अवस्थाको भएमा त्यस्तो व्यक्तिको तर्फबाट निजको नजिकको नातेदारले त्यस्तो मन्जुरी दिन सक्नेछ ।

२०. मन्जुरी बिना अङ्ग प्रत्यारोपण गर्न सकिने :

दफा १९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा अङ्ग ग्रहण गर्ने व्यक्तिको परिवारको सदस्यको मन्जुरी नभए तापनि अङ्ग प्रत्यारोपण गर्न सकिनेछ :–

(क) अङ्ग ग्रहण गर्ने व्यक्ति बेवारिस भएमा,

(ख) अङ्ग ग्रहण गर्ने व्यक्तिको नजिकको नातेदारलाई उचित समयमा सूचना दिई मन्जुरी लिन नसकिने भएमा,

(ग) खण्ड (क) र (ख) बमोजिमकोअवस्थामा तत्काल अङ्ग प्रत्यारोपण नगरेमा त्यस्तो व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना भएमा ।

२१. लागत खर्च तथा सेवा शुल्क :

स्वास्थ्य संस्थाले यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिबाट लागत खर्च तथा सेवा शुल्क लिन सक्नेछ ।तर,

(क) त्यस्तो सेवा शुल्कको दर समितिबाट स्वीकृत भएको हुनु पर्नेछ ।

(ख) त्यस्तो सेवा शुल्कको दर समितिले निर्देश गरे बमोजिम प्रकाशन गरेको हुनु पर्नेछ ।

(ग) त्यस्तो सेवा शुल्कको दर उचित र मनासिव हुनु पर्नेछ ।

२२. अङ्ग झिक्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक कुराहरु :

यस ऐन बमोजिम अङ्ग झिक्दा वा झिकिएको अङ्गको सुरक्षित रुपमा संचय गर्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने आधुनिक चिकित्साशास्त्र सम्बन्धी प्राविधिक कुराहरु तोकिए बमोजिम हुनेछ ।

 

Share Now

Leave a comment.