Prakash Adhikari March 17, 2020

 

लामाबगर(दोलखा), ४ चैत्र। राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्स संरचनाको परीक्षण शुरु गरिएको छ ।

सोमवारबाट आयोजनाको बाँधमा पानी संकलन गरेर हेडबक्र्सको संरचनाको परीक्षण सुरु गरिएको हो ।

सोमवार ९ः३० बजेबाट जलाशयमा पानी जम्मा गर्न सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभएको छ ।
आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ ।

हेडवर्क्स परीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी जलाशयमा जम्मा गर्न थालिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

तामाकोशी जलविद्युत आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ । यसको जलाशयमा १२ लाख घन मिटर पानी जम्मा गर्न सकिन्छ ।

हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने आयोजनाले जनाएको छ ।

Share Now

Leave a comment.