Prakash Adhikari March 26, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १३ चैत्र(बीबीसी) । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण संयुक्त राज्य अमेरिकामा अनपेक्षित रुपमा तीव्र गतिमा फैलिएको छ ।

बुधबार एकैदिन अमेरिकामा १० हजार कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट एक दिनमा मर्नेको संख्या १ सय ९३ पुगेको छ । योसंगै अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको संख्या ७ सय ३७ पुगेको छ भने संक्रमितहरुको संख्या ५४ हजार ४ सय ५३ पुगेको छ ।

यसै बीच न्यूयोर्कका गभर्नरले अस्पताल भर्ना दरमा कमी आएको बताउनुभएको छ ।

बेलायतमा मृतकको संख्या ४ सय २२ बाट बढेर ४ सय ६३ पुगेको छ  र देशमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५ सय नाघेको छ ।

यसैबीच स्पेनमा कोरोना संक्रमणबाट भएको मृत्युको संख्याले चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको संख्यालाई नाघेको छ । स्पेनमा हालसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ र ४७ हजारभन्दाबढीमा संक्रमण देखिएको छ ।

स्पेनमा म्याडड्रिड सबैभन्दाबढी प्रभावित भएको छ र उत्तरपूर्वी क्षेत्रको क्याटालोनियामा संक्रमणका घट्नाहरु तीव्र दरमा बढिरहेका छन् । संसदले देशमा आपत्काल अरु ११ अप्रिलसम्म अर्थात दुईहप्ता थप्ने पक्षमा मतदान गर्ने भएको छ । त्यहाका उपप्रधानमन्त्री कारमेन काल्भोलाई पनि संक्रमण भएको पुष्टि भएको छ ।

वितेको २४ घण्टामा  स्पेनमा  कोरोनाबाट भएको मृत्युको सख्या ७ सय ३८ पुगेको छ जसले इटालीको एकै दिन भएको मृत्युको संख्या ६ सय ८३ लाई उछिनेको छ ।

चीनले आधिकारिक रुपमा कोरोनाबाट मर्नेहरुको संख्या ३ हजार २ सय ८५ भएको तथ्यांक सार्वजनिक गरेको छ । जबकी कोरोनाबाट सबैभन्दा बढी पीडित इटालीमा मर्नेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानमा भने कुनै नयाँ संक्रमण देखिएको छैन । तर चीनमा भने बाहिरबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएका छन् ।

फ्रान्समा वितेको २४ घण्टामा कोरोना संक्रमणबाटब २ सय ३१ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३१ पुगेको छ ।

रुसमा राष्ट्रपति भ्लादमिर पुटिनले आफू सत्तामा थप टिकिरहन संविधानको संशोधनकालागि गर्न खोजिएको मतदान रोक्नुभएको छ । रुसमा एकैदिन कोरोना भाइरसबाट ६ सय ५८ जना संक्रमित भेटिएका छन् , जुन हालसम्म एकैदिन संक्रमित भएकामध्य ठूलो संख्या हो ।

जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांक अनुसार विश्वभर हाल ४ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसबाट २० हजारभन्दाबढीको ज्यान गइसकेको छ । उपचारबाट १ लाख १० हजारभन्दा बढी निको पनि भएका छन ।

Share Now

Leave a comment.