काठमाडौं, २० चैत्र । कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहिबार बसेको बंठकले खाद्यान्न तथा अत्यावश्यक वस्तु उत्पादन उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको छ।
सरकारले लक डाउनको अवस्थामा पनि खाद्य र अत्यवश्यक बस्तुहरुको आपूर्तिमा अभाव हुन नपाओस भन्ने सदासयले उद्योगभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
अर्थ एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिनुभएको छ।
उहाँले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न दिइने बताउनु भयो।
समितिको बैठकले हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि गरेको छ ।
बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
यस्तै बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवैतर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै स्वदेश फर्कन दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


















