Prakash Adhikari April 2, 2020

काठमाडौं,२० चैत्र । नेपाल भारत सीमा नाकाबाट आवतजावतमा रोक लगाइएपछि दुवै देशका नागरिकहरूले सीमा क्षेत्रमा अप्ठेरा ब्यहोरिरहेका विवरण आएका छन्।

दार्चुलामा नेपाल-भारतको औपचारिक सीमानाका लकडाउनका कारण भन्दै नखोलिएपछि पछिल्ला केही दिनमा ४३ जना नेपालीले महाकाली नदीमा पौडेर सीमा पार गरेको अधिकारीहरूले बताएका छन्।

बाँकेमा नाका पार गरि नेपाल प्रवेश गरेका व्यक्तिहरूलाई भारत फर्काउने प्रशासनको प्रयास विफल भएपछि दशगजा क्षेत्रमै क्वारन्टीनस्थल बनाइएको छ।

नेपालको अन्तर्राष्ट्रिय सीमासम्म आइपुग्दा समेत नेपाली नागरिकहरू अलपत्र अवस्थामा रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रि मानवअधिकारवादी सङ्घ संस्थाले सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

बिहीवार राष्ट्रिय मानवअधिकार आयोगले सीमासम्म आइपुगेका नेपालीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरू स्वदेशभित्रै बस्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको थियो।

व्यस्थापन
ज्यान जोखिममा पारेर महाकाली नदीबाट सीमा पार गरेर नेपाल आइपुगेका ४३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रातिमा पनि त्यसरी महाकाली नदीको बाटो पारेर आउने गरेका छन्।

भारत
महाकालीपारि झण्डै एक हजार नेपाली कामदारलाई भारतीय पक्षले नै खाने बस्ने व्यवस्थापन गरिदिएको छ
भारतमा फसेका नेपालीहरूको व्यस्थापन भारतले र नेपालमा रहेका भारतीयको व्यवस्थापन नेपाली पक्षले गर्ने नेपालको गृह प्रशासनले बताउँदै आएको छ।

त्यसअनुसार भारतमा रहेका नेपालीहरूलाई भारतीय पक्षले पाँच ठाउँमा क्वारन्टीन निमार्ण गरिएको बताइएको छ।

नेपाली कामदारको बस्ने, खाने लगायत उनीहरूको स्वास्थ्यजाँच धार्चुला जिल्ला प्रशासनले गरिरहेको जनाइएको छ ।

बुधवार दिउँसोसम्म ८५० जना नेपाली कामदार रहेकोमा बेलुकासम्म १०७ जना थपिएर जम्मा ९५७ जना नेपाली कामदार सीमा क्षेत्रमा आइपुगेको अधिकारीहरू बताउँछन्।

दशगजा क्षेत्रमै क्वारेन्टाइन

नेपाल प्रवेश गरिसकेका झण्डै दुई सय जनालाई भारत नै फर्काउने प्रयास नेपालगञ्जमा प्रशासनले गरेको प्रयास असफल भएको छ।

अहिले १ सय ८१ जनालाई भारतसँगको सीमा नजिकै दशगजा क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।

दशगजा
सशस्त्र प्रहरीले दशगजामा क्वारेन्टाइन बनाएका थिए

भारतीय सुरक्षा अधिकारीहरू बाँके प्रशासनको आग्रहमा साँझ ती नेपालीलाई लिन आए पनि उनीहरू जान नमानेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

‘भारतीय क्वारेन्टाइनमै राख्ने सहमति भएर भारतीय सुरक्षा अधिकारीहरू लिन आउनुभयो तर नेपालीहरू जानै मानेनन्, सम्झाउने अनेक प्रयास गरियो। तर जान अस्वीकार गरेपछि सीमा क्षेत्रमै राख्ने व्यवस्था मिलाउँदैछौँ।’

बाँकेका विभिन्न स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा राख्न चाहे पनि माथिल्लो तहको निर्देशन भन्दै स्थानीय प्रशासनले राख्न नदिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले बताउनुभयो।

दशगजामा अलपत्र परेका नेपालीहरूका लागि छुट्टै पाल टाँगेर क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ।

यसका लागि सशस्त्र प्रहरीले अस्थायी क्वारेन्टाइन बनाइएको छ।

भारतबाट फर्किएका सुर्खेत बराहताल-१० घर बताउने दलबहादुर रोकाले भन्नुभयो, “रोग सर्ला भनेर हामीलाई पनि परिवारको चिन्ता छ। त्यसैले हामी क्वारन्टीनमा दुई हप्ता बिताएर घर जान चाहन्छौँ तर त्यो व्यवस्था हाम्रो देशले अझै गर्न नसक्दा दुःख लागेको छ।”

सीमामा आवतजावत रोक्न चुनौती

भैरहवाको सुनौली नाकानजिकै तीन सयभन्दा बढी नेपालीलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको नेपाली अधिकारीहरूले बताएका छन्।

एक रात र एक दिन दशगजाको खुला आकाशमुनि बिताएका ती नेपालीलाई नेपाल सरकारले नेपाल प्रवेश गर्न नदिएपछि भारतीय अधिकारीहरूले नाकाबाट झण्डै ५ किलोमिटर दक्षिण नौतुन्ना बजारमा लगि अलग्गै व्यवस्थापन गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो।

उहाँले भन्नुभयो, “दुवै देशका जनता जहाँजहाँ छन् त्यहीँत्यहीँ रहने कुरा दुवै देशका सरकारबाट भएको हुँदा नेपालीहरूको उतै व्यवस्थापन हुन्छ।”

नौतुन्नामा राखिएका केही महिला सुत्केरी पाएपछि स्थानीय पालिकाहरूको पहल र प्रशासनको समन्वयमा बुधवार उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको थियो।

नेपालबाट भारत जान नपाएका १५५ जना भारतीय नागरिकलाई भैरहवामा अलग्गै व्यवस्थापन गरी राखिएको छ।

वीरगन्जको मुख्य नाका बन्द रहे पनि ग्रामीण भेगका अन्य स्थान र खेतबारी हुँदै नेपाल र भारत दुवैतर्फ नेपाली र भारतीयको आउजाउ गर्ने क्रम नरोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो।

दिल्लीबाट फर्किएको ठानिएका ४० प्रहरी नियन्त्रणमा

दिल्लीको एक धार्मिकसभामा सहभागी भई लुकिछिपी पर्सामा आई बसेको आशङ्कामा ४० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ।

नाका
नाकामा अलपत्र परेका व्यक्तिको खाने र बस्ने व्यवस्थापन स्थानीय तहले गरेका छन्
पर्साको पटेर्वासुगौली गाँउपालिकाको एक मदरसामा लुकेर बसेका ११ जनालाई बुधवार मात्रै नियन्त्रणमा लिई क्वारन्टीनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “दिल्लीको तबलिगी जमातमा सहभागी भई भारतबाट लुकीछिपी पर्सामा आएर बसेको भनेर स्थानीय बासिन्दाले खबर गरेपछि नियन्त्रणमा लिइयो। तर उनीहरूले आफू दिल्लीबाट नआएको बताएपछि अनुसन्धान भइरहेको छ। उनीहरू पनि १४ दिन क्वारेन्टाइनमा चाँहि बस्नुपर्छ।”

यसअघि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएका चार सयभन्दा बढी भारतीयमध्ये अहिले १६८ जना मात्रै बाँकी रहेको बताइएको छ।

पर्साका १४ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिएको बस्नेतले बताउनुभयो।

विभिन्न नाकाबाट लुकीछिपी आउने जाने क्रम नरोकिँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको बस्नेत भन्नुहुन्छ।

स्थानको अभाव तथा क्वारेन्टाइनमा राख्ने अवस्था नरहेका तथा सामान्य अवस्था रहेका मानिसलाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पनि छाड्ने गरिएको पन्तको भनाइ छ।

नेपाल र भारतमा लकडाउनको अवस्था जारी रहँदा पूर्वी नेपालको झापामा ६४ जनालाई स्थानीय तहहरूले खाने तथा बस्ने व्यवस्था गरेर राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लकडाउन नहटेसम्म उनीहरूलाई नेपालमै राखिने झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताउनुभयो।( बीबीसीबाट)

Share Now

Leave a comment.