काठमाडौं, २० चैत्र । सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमणमा परेका छैटौँ बिरामी फेला परेको जनाएको छ।
बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको बताउनुभयो।
उहाँले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको बताउनुभयो।
डा.देवकोटाले भन्नुभयो, चैत ४ गते दोहाबाट काठमाण्डू आएको QR-652 उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो। पहिला नै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो ।
उहाँले भन्नुभयो , कोरोनाभाइरस कोभिड १९ पोजिटिभ देखिपछि गर्ने कार्यहरू चिकित्सक र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ। यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।
उपचार
अधिकारीहरूका अनुसार यसअघि नेपालमा देखिएका कोभिड १९ सङ्क्रमणका पाँचैवटा घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका छन्।
नेपालमा हालसम्म १हजार १ सय ८४ जनामा कोभिड १९ को परीक्षण गरिएको छ। त्यसमध्ये १हजार १ सय ७८ मा सङ्क्रमण नदेखिएको र ५ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र अधिकारीहरूका अनुसार उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत कतार एअरवेजबाटै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा देखिएको थियो।

उनीसँग जहाजमा यात्रा गरेका सबै १ सय ५८ जना नेपालीको खोजी कार्य अघि बढाइएको अधिकारीहरूले बताएका थिए।
तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष थिए भने चौथो व्यक्ति २० मार्चमा यूकेबाट दुबई हुँदै दिल्लीबाट विस्तारा एअर चढेर नेपाल आएको बताइएको थियो।
उनको धनगढीमा उपचार भइरहेको अधिकारीहरूले बताएका थिए। सङ्क्रमण देखिएकी पाँचौ नेपाली बेल्जियमबाट कतार हुँदै आएकी महिला थिइन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लोसहित QR-652 जहाजमा आएका तीन जनामा सङ्क्रमण देखिएको बिहीवारको पत्रकार सम्मेलनमा जानकारी दिए।


















