काठमाडौं, २१ चैत्र । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमितको संख्या १० लाख नाघेको छ । यस घातक भाइरसको संक्रमणबाट ५३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको बारेमा अभिलेख राख्दै आएको बल्र्डोमिटरका अनुसार विश्वमा हालसम्म १० लाख १५ हजार ४ सय ६६ जनामा कोरोना भाइरस देखिएको छ । त्यसमध्ये यस भाइरसको कारण बिरामी परेर ५३ हजार १ सहय ९० जनाले जीवन गुमाएका छन्। २ लाख १२ हजार २ सय २९ जनाले उपचारपछि पुनर्जीवन पाएका छन् । हाल संक्रमणमा रहेकामध्ये ३७ हजार ६ सय ९६ जनाको अवस्था गम्भीर छ ।
बिहिबार कोरोना भाइरसको कारण एकै दिन बढी बिरामीले जीवन गुमाउने राष्ट्रका शीर्षमा फ्रान्स रहन पुग्यो । फ्रान्समा यस दिन १ हजार ३ सय ५५ जनाले जीवन गुमाए । यो सहित फ्रान्समा जीवन गुमाउनेको संख्या ५ हजार १ सय ८१ पुगेको छ । फ्रान्समा बिहीबार २ हजार १ सय १६ जनामा नयाँ संक्रमण देखिएको छ । कूल संक्रमितहरुको संख्या ५९ हजार १ सय ५ रहन पुगेको छ ।
विश्व शक्ति राष्ट्र अमेरिकामा बिहिबार ९ सय ६८ जनाले जीवन गुमाएका छन् । यो सहित अमेरिकामा कोरोनाबाट जीवन गुमाउनेको संख्या ६ हजार ७० पुगेको छ ।अमेरिकामा एकै दिन २९ हजार ८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट २ लाख ४४ हजार ८ सय ७७ जनालाई कोरोनाको संक्रमण भएको छ ।
स्पेनमा कोरोनाको तबाही अझै मत्थर भएको छैन । बिहिबार कोरोना सक्रमणबाट ९ सय ६१ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट जीवन गुमाउनेको संख्या स्पेनमा १० हजार ३ सय ४८ पुगेको छ । बिहिबार स्पेनमा ७ हजार ९ सय ४७ जनामा नयाँ संक्रमण देखिएको छ । कोरोनाबाट संक्रमितहरुको संख्या १ लाख १२ हजार ६५ पुगेको छ ।
इटालीमा बिहीबार ७ सय ६० जनाले जीवन गुमाएका छन् । योसंगै इटालीमा कोरोनाबाट मृत्युवरण गर्नेहरुको संख्या १३ हजार ९ सय १५ पुगेको छ । इटालीमा बिहीबार ४ हजार ६ सय ६८ जनामा नयाँ संक्रमण देखियो । इटालीमा संक्रमितहरुको कूल संख्या १ लाख १५ हजार २ सय ४२ पुगेको छ ।
बेलायतमा बिहिबार कोरोनाको कारण ५ सय ६९ जनाले जीवन गुमाएका छन् । यो सहित कोरोनाबाट जीवन गुमाउनेको संख्या बेलायतमा २ हजार ९ सय २१ पुगेको छ । बिहिबार बेलायतमा कोरोनाका ४ हजार २ सय ४४ नयाँ बिरामी थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७ सय १८ पुगेको छ ।
बेल्जियममा कोरोनाभाइरसको संक्रमणबाट बिहिबार १ सय ८३जनाले जीवन गुमाए योसहित कोरोनाबाट जीवन गुमाउने बेलायतीहरुको संख्या १ हजार ११ पुगेको छ । बेल्जियममा बिहिबार कोरोनाका १ हजार ३ सय ८४ नयाँ बिरामी थपिएका छन् । त्यहाँ कोरोना संक्रमितको कुल संख्या १५ हजार ३ सय ४८ पुगेको छ ।
जर्मनीमा बिहिबार कोरोना भाइरसको संक्रमणबाट १ सय ७६ जनाले जीवन गुमाए । कोरोनाबाट जीवन गुमाउनेको संख्या जर्मनीमा १ हजार १ सय ७ पुगेको छ । त्यहाँ बिहिबार ६ हजार ८ सय ३१जना नयाँ बिरामी थपिएका छन् । कुल संक्रमितको संख्या ८४ हजार ७ सय ९४ पुगेको छ ।
नेदरल्याण्ड्समा बिहिबार कोरोना भाइरस संक्रमणबाट १ सय ६६ जनाले जीवन गुमाए । योसहित कोरोनाको संक्रमणबाट जीवन गुमाउनेको संख्या नेदरल्याण्ड्समा १ हजार ३ सय ३९ पुगेको छ । त्यहाँ बिहीबार १ हजार ८३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट संक्रमितहरुको कुलसंख्या १४ हजार ६ सय ९७ पुगेको छ ।
इरानमा कोरोनाभाइरसको संक्रमणबाट बिहिबार १ सय २४ जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या इरानमा ३ हजार १ सय ६० पुगेको छ । इरानमा एकैदिन २ हजार ८ सय ७५ जना नयाँ विरामी थपिएका छन् । इरानमा कोराना संक्रमितहरुको संख्या ५० हजार ४ सय ६८ पुगेको छ ।
कोरोनाको उद्गम स्थल चीनमा बिहिबार कोरोनाबाट ६ जनाको मात्र मृत्युभएको रेकर्ड छ । योसहित चीनमा कोरोनाबाट जीवन गर्नेहरुको संख्या ३ हजार ३ सय १८ पुगेको छ । चीनमा बिहिबार ३५ जना नयाँ विरामी थपिएको रेकर्ड । हालसम्म चीनमा कोरोनाबाट ८१ हजार ५ सय ८९ जना कोरोनाबाट संक्रमित भएका छन् ।
टर्कीमा बिहिबार कोरोनाबाट ७९ जनाले जीवन गुमाए । यस रोगबाट जीवन गुमाउनेको संख्या टर्कीमा ३ सय ५६पुगेको छ । टर्कीमा बिहिबार २ हजार ४ सय ५६ जना नयाँ विरामी देखिएका छन् । यो सहित टर्कीमा कोरोना संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।
क्यानडामा बिहिबार कोरोनाकै कारण ५९ जनाले जीवन गुमाए । योसहित कोरोनाको कारण जीवन गुमाउनेको संख्या क्यानडामा १ सय ७३ पुगेको छ । क्यानडामा बिहिबार १ हजार ५ सय ५२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । हालसम्म क्यानडामा कोरोनाबाट ११ हजार २ सय ८३ जना संक्रमित भएका छन् ।
भारतमा बिहिबार कोरोनाबाट १४ जनाले जीवन गुमाएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा ७२ पुगेको छ । त्यहाँ बिहिबार ५ सय ४५ जना नयाँ संक्रमित बिरामी थपिएका छन् । कोरोनाबाट संक्रमितको संख्या भारतमा २ हजार ५ सय ४३ पुगेको छ ।
नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । यी सबै विरामी विदेशबाट नेपाल आएका हुन् । त्यसमध्यै १ जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् ।


















