वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १ बैशाख । अमेरिकी अर्बपति एवम् परोपकारी व्यक्तित्व बिल गेट्सले डेढ वर्षमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताउनुभएको छ।
बीबीसीसँग कुरा गर्दै गेट्सले खोपको विकासनै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एकमात्र उपाय भएको उल्लेख गर्नुभएको हो।
विगतको गल्ती
माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले तत्काल रोग निदानका निम्ति आवश्यक पर्ने सामग्री निर्माणका कार्यक्रममा विगतमा लगानी नगरिएको बताउनुभयो।
उहाँले त्यस्तो लगानी गरिएको भए खोप निर्माणको अवधि आधा झार्न सकिने थियो भन्नुभएको छ।
‘एक समय थियो जतिखेर मैले अनि कैयन् अरू स्वास्थ्य विज्ञहरूले यस (महामारी)लाई संसारले भोग्न सक्ने सम्भवतस् सबभन्दा विषम जोखिम भनेका थियौँ’, उहाले भन्नुभयो।
सन् २०१५ को एउटा सम्बोधन तथा न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा यस्ता सम्भाव्य खतराबारे औँल्याइएको तर त्यसअनुसार आवश्यक लगानी भने गर्न नसकिएको उहाँले सम्झना गर्नुभएको छ।
कोरोनाभाइरस सङ्क्रमणका विवरणका आएका पहिलो केही महिनामा पनि खासगरि परीक्षणसम्बन्धी काम अपेक्षाकृत हुन नसकेको भन्दै उहाँले संसारका थोरै देशहरूले मात्र महामारीसँग जुझ्न गतिलो काम गर्न सकेको बताउनुभयो।
अहिले विश्वनै हालसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको उहाले बताउनुभएको छ।
गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ।


















