Prakash Adhikari April 14, 2020

काठमाडौं, २ बैशाख । विश्वव्यापी कोरोना भाइरस संक्रमणको महामारीको सन्त्रास र नेपालमा कम्युनिष्ट सरकारको केन्द्रिकृत राज्य सञ्चालनबाट निस्सासिएका नेपालीहरुको मनस्थितिलाई ध्यानमा राखेर नयाँबर्ष २०७७ को उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकताको नयाँ प्रस्ताव सार्नुभएको छ ।

त्यस्तो एकता कसरी हासिल हुनसक्छ भन्ने कुराको खाका उहाँको शुभकामना सन्देशमा खुल्दैन । तर उहाँको नयाँ बर्षको सन्देशमा नेपालका राजाहरुको शासकीय मान्यता र सनातन वैदिक धर्म तथा अनादिकालदेखि अवलम्बन हुँदै आएका मूल्य,मान्यता,परम्परा र संकृतिको भने वकालत गरिएको छ ।

नयाँ वर्ष २०७७मा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीलाई दिइएको शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले विश्व समुदाय र नेपालले समेत भोगिरहेको कोरोनाभाइरसको संक्रमणको चर्चा गर्दै भन्नुभएको छ, ‘विद्यमान समस्याबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतिहरुको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको छ ।’

पूर्वराजा ज्ञानेन्द्रले लुप्त भाषा राजतन्त्र र हिन्दु सनातन धर्ममाथि आस्था राख्नेहरुप्रति विगतमा गरिएको निषेधको राजनीतिको समय समाप्त भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘कसैले कसैलाई निषेध गरेर जाने सोंचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौ ।’

‘नेपाली जनता खुसी र सुखी रहून एवम् देशको शिर सधैं सगरमाथा झै उच्च रहोस भन्ने हाम्रो अटल चाहना थियो छ र रहने छ’ भन्दै पूर्व राजा ज्ञानेन्द्रले नयाँबर्षको शुभकामना सन्देशमा आफ्नो शासकीय मान्यता यसरी प्रकट गर्नुभएको छ, ‘आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्न सक्ने विभिन्न समयका खतरा टार्न हामीले हरसंभव प्रयास गरेको सर्वविदित नै छ ।’

नेपालबाट उन्मूलन भैसकेको राजतन्त्रको मूल्य र मान्यताको पनि वकालत गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हाम्रा पुर्खाले अनादिकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन हिन्दु धर्मसंस्कृति परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्वजगतले स्वीकार गरिरहेको छ ।’

पूर्व राजा ज्ञानेन्द्रले आफ्नो शुभकामना सन्देशमा मानवीय र प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता नयाँबर्षमा प्राप्त होस भन्ने कामना समेत गर्नुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको शुभकामनामा निहित नूतन इतिहास निर्माणको वाक्यांशले के कुरालाई संकेत गर्न खोजेको हो भन्ने कौतुहलता कम्युनिष्ट शासकको पेलानमा परेकाहरुमा व्याप्त हुँदै गएको छ ।

Share Now

Leave a comment.