नयाँदिल्ली(भारत), २ बैशाख । छिमेकी मित्रराष्ट्र भारतले कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि हाल कायम रहेको पूर्ण लकडाउनको अवधि ३ मे सम्मका लागि लम्ब्याएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा मंगलबार गर्नुभएको संबोधनमा यसको घोषणा गर्नुभएको हो ।
प्रधामन्त्री मोदीले आफ्नो सम्बोधनमा आगामी एक हप्ता अर्थात अप्रिल २० सम्म सबै राज्यको कोरोना भाइरस संक्रमणको अवस्थाको निकट निगरानी गरी उच्चदरमा कोरोना संक्रमण फैलने संभावना नरहेका राज्यका जिल्ला,नगर र गाँउहरुमा अत्यावश्यक सेवा खुलाउन सकिने बताउनुभएको छ ।
Address to the nation. https://t.co/26sVP2br5n
— Narendra Modi (@narendramodi) April 14, 2020
आफ्नो संबोधनमा प्रधानमन्त्री मोदीले खासगरी ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल राख्न,सामाजिक दूरी कायम राख्न,आफ्नो रोगप्रतिरोध क्षमता अभिबृद्धिको निमित्त आयुष मन्त्रालले दिएको निर्देशन पालना गर्न, दीनहिन र विपन्न परिवारका व्यक्तिहरुलाई भरसक खानेकुराको बन्दोबस्त गर्न,कुनैपनि कामदारलाई कामबाट बर्खास्त नगर्न र डाक्टर,नर्स,सरसफाईकर्मी र सुरक्षाकर्मीको आदर गर्न अनुरोध गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले भारतको कैयौ राज्यमा नयाँ वर्ष र चाडपर्व सुरु भएकोमा तिनलाई शुभकामना दिंदै घरमै बसेर शुभकामना आदानप्रदान गरेर कोरोना संक्रमण नियन्त्रणकोलागि लगाइएको लकडाउनको पालना गर्नुभएकोमा धन्यावाद दिंदै आफ्नो जीवन र परिवार पनि जोगाउन पुर्याएको अमूल्य सहयोगका लागि धन्यवाद पनि दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा भारत कोरोना संक्रमणको संभावित क्षति रोक्न अहिलेसम्म सफल रहेको दावी गर्दै यसकोलागि व्यक्तिगत दुःख सहेर पनि सरकारले चालेका कदममा सहयोग पुर्याएकोमा सम्पूर्ण देशवासीलाई धन्यवाद दिनुभयो ।
उहाँले भारतमा कुनै संक्रमित फेला नपार्दै कोरोना सक्रमित मुलुकबाट आउने यात्रुहरुको छानवीन र यात्रा प्रतिबन्ध, उडान कटौती जस्ता उपाय अवलम्बन गरिएको पनि स्मरण गर्नुभएको थियो ।
उहाँले भारत अन्य देशहरुको तुलनामा कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणमा हालसम्म सफल रहेको दावी गर्दै आउदा केही हप्ता धैर्यतापूर्वक सरकारका कदमलाई साथ दिन पनि अपिल गर्नुभएको छ ।
भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३ सय ५८जनाले ज्यान गुमाएका छन भने १० हजार ४ सय ५३ जना बिरामी परेका छन् । ती मध्ये १ हजार १ सय ८१ जना उपचारपछि निको भएका छन् ।


















