काठमाडौं, ४ बैशाख । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले खेल्ने तय भएको भारतीय प्रिमियर लिग(आइपीएल) टी २० क्रिकेट प्रतियोगिता। कोरोनाभाइरस नियन्त्रणको लागि लगाएको लकडाउनका कारण अनिश्चित कालसम्म स्थगित भएको छ ।
भारत सरकारले मे ३ तारिखसम्म लकडाउन लम्बाएपछि बीसीसीआइले अर्को नोटिस जारी नहुँदासम्मका लागि आईपीएल प्रतियोगिता स्थगित गरेको जनाएको छ ।
मार्च २९ देखि शुरुहुनु पर्ने आईपीएल पहिलो पटक लकडाउन भएपछि अप्रिल १५ सम्म स्थगित भएको थियो ।
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा संबोधन गर्दै मे ३ तारिखसम्म लकडाउन लम्ब्याउने घोषणा गरेसँगै आईपीएल पनि स्थगित भएको हो ।
अहिले हुन नसकेको आईपीएल डिसेम्बरमा हुनसक्ने आंकलन गरिएको छ । जुनदेखि मध्य सेप्टेम्बरसम्म मनसुन सिजन हुनेछ । यस्तै सेप्टेम्बरमा एशिया कप टी २० हुँदै छ । एशिया कप युएईमा हुने छ ।
अक्टोबर १८ देखि अस्ट्रेलियामा टी २० विश्वकप हुँदैछ ।
यदि समयमै विश्वकप भयो भने मध्य नोभेम्बरसम्म यो प्रतियोगिता चल्ने छ ।
त्यसैले आईपीएलको फर्म्याट पनि छोटो बनाउनु पर्ने चुनौती बीसीसीआईलाई रहेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले अहिले नै आईपीएलबारे केही भन्न नसकिने बताउनुभएको छ।
उहाँले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट आफू,आफन्त र सबैलाई सुरक्षित राख्न सामाजिक दूरी कायम गरेर स्वयं क्वारेन्टाइनमा बस्नु नै अहिलेको लागि उत्तम भएको बताउनुभएको छ ।


















