वाशिड.टन डीसी (सयुक्त राज्य अमेरिका), ४ बैशाख (बीबीसी) । कोभिड १९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिनुभएको छ।
उहाँले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताउनुभएको छ।
ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उहाले गभर्नरहरूलाई आवश्यकता अनुसार आआफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताउनुभएको हो।
यसअघि नै राष्ट्रपिित ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताउनुभएको थियो।
सङ्घीय सरकारको साथ
राष्ट्रपति ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताउनुभयो ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताउनुभयो।

कोरोनाभाइरस सङ्क्रमित र त्यसकै कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा विश्वकै उच्च छ।
‘अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्’ , बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन।’
राष्ट्रपतिले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताउनुभयो।
चेतावनी
अमेरिकी राष्ट्रपतिले ले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य ‘शारीरिक र मानसिक’ समस्याहरूमा ‘तीब्र वृद्धि’ हुने चेतावनी दिनुभएको छ।
उहाँले ‘सर्तहरू पूरा भए’ स्वस्थ्य नागरिकहरू काममा फर्किनसक्ने पत्रकारहरूलाई बताउनुभएको थियो।
उहाँले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताउनुभयो।
राष्ट्रपति ट्रम्पले अमेरिकाको अर्थतन्त्र पुनस् खोल्ने विषय ‘एक पटक चालिने एउटा सावधानीपूर्ण कदम’ हुने बताउनुभयो।
कोरोनाभाइरसस् अर्थतन्त्र जोगाउने कि जनता ?
ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुनस् खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ।
उक्त निर्देशिका अनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्याङ्कनपछि सामान्य अवस्थामा फर्किनसक्ने छन्।
तर सङक्रमण धेरै रहेका र सङक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्यो भन्दा बढी लाग्न सक्छ।
तर आलोचकहरूले भने भाइरसले निम्त्याएको सङ्कट छिट्टै टर्छ भन्नेबारे राष्ट्रपति चाहिनेभन्दा बढी आशावादी भएको बताएका छन्।


















