Prakash Adhikari April 17, 2020

सञ्जय ढकाल /बीबीसी न्यूज नेपाली

काठमाडौं, ५ बैशाख । ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो।

यस पटक सरकारले यो कुल परिमाणलाई ७ प्रतिशतले बढाउने लक्ष्य राखेको थियो।

तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ुलकडाउनुले झन्डै एक महिनादेखि आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।

अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।

यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन।

तर नेपालका अर्थविद्हरू एवं सरकारी अधिकारीहरूसँगको कुराकानीका आधारमा सबभन्दा घातक असर पर्ने चार क्षेत्र स्पष्ट भएका छन्।

१. विप्रेषण आय र वैदेशिक रोजगारी
अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो।

ठूलो योगदान गर्ने यो क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको छ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदार
यसले आगामी दिनमा पार्ने असर दोहोरो देखिन्छ।

एकातिर त्यहाँ रहेका कामदारहरूको तलब ज्याला घट्न सक्छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्न सक्छ। नेपाली धेरै जाने खाडी देशहरू पेट्रोलियम पदार्थको माग र मूल्यमा आएको भारी गिरावटसँगै आर्थिक मन्दीमा पर्ने खतरा टड्कारो छ।

‘कतिपय देशले हाम्रा कारखाना बन्द भएपछि कामदार राख्न सक्दैनौँ भन्न थालेका छन् ‘, अर्थविद् डा. विश्वम्भर प्याकुर्‍याल भन्नुहुन्छ, ‘ती बेरोजगार भए देशकै विदेशी मुद्रा सञ्चितिमा असर पर्छ। यसको चौतर्फी असर नेपाली अर्थतन्त्रमा पर्छ।’

अर्का अर्थविद् केशव आचार्यको अनुमानमा असार मसान्तसम्मको वर्तमान आर्थिक वर्षमा नै विप्रेषणको आय २० देखि २५ प्रतिशत वा दुई खर्ब रुपैयाँसम्म घट्न सक्छ।

‘दशौँ हजार मानिस बेरोजगार हुन सक्छन्’, उहाँले भन्नुभयो।

पूर्वअर्थसचिव रामेश्वर खनाल भने यसमा थोरै आशाका किरण पनि देख्नुहुन्छ।

‘सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला पनि हामीलाई डर लागेको थियो। तर धेरै असर परेन। यसको एउटा कारण भनेको अधिकांश नेपालीहरू अत्यावश्यक मानिने क्षेत्रमा कार्यरत छन्। जस्तै ( सुरक्षागार्ड, खेतीपाती, सरसफाइ, किनमेलका पसल अनि आपूर्ति प्रवाह’,खनालले थप्नुभयो,
ूसङ्कटका बेला पनि यी सेवा चाहिन्छन् र रोजगारी जोगिन सक्छ।’

उहाँले भन्नुभयो, ‘तर कैयौँ नेपाली होटल तथा रेस्टुराँमा पनि छन् जुन समस्यामा पर्न सक्छन्। यस्ता क्षेत्रमा काम गर्ने मानिस स्वदेशनै फर्किए भनेपनि तिनमा दक्षता हुन्छ र तिनले अर्थतन्त्रलाई फाइदा दिन सक्छन् ।’

यसको मनोवैज्ञानिक खतरालाई भने उहाँले पनि स्वीकार गर्नुभयो। अबको दिनमा मानिसहरू विदेशमा बस्न उत्सुक नहुन सक्ने र १० देखि १५ प्रतिशत मानिस घर फर्किन सक्ने उहाँको अनुमान छ।

२. पर्यटन
पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठ्याक्कै कति योगदान गर्छ भन्नेमा स्पष्ट छैन। तर कम्तीमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ।

भनिन्छ एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ।

पर्यटक
कोरोनाभाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो।

एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको सङ्ख्या लामैसम्म कम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भएपनि ‘लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन्।

अर्थविद् आचार्य भन्नहुन्छ, ‘जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ। यो क्षेत्रमा ठूलै खति हुने देखिन्छ।’

पूर्वसचिव खनाल पनि पर्यटनमा परेको असरबाट उभ्रन लामै समय लाग्न सक्ने देख्नुहुन्छ।

यसले हवाई उड्डयन, होटल तथा रेस्टुराँ, यातायात, कृषि तथा अन्य व्यवसायी, ब्याङ्क तथा वित्तीय संस्था सबैको आयमा असर पर्नेछ।

३. साना तथा मझौला उद्योगी व्यवसायी

कुनैपनि देशको अर्थतन्त्रको निम्ति एसएमई भनिने साना तथा मझौला व्यवसायी मेरुदण्ड नै हुने गर्छन्।

ससाना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि मम पसलेदेखि लिएर किराना व्यापारी सबै यसैमा पर्छन्।

अर्थविद् डा. प्याकुर्‍यालको अनुमानमा यस्ता साना र मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका छन्।

‘तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आइपर्छ’, उहाँले बताउनुभयो।

यस विषयमा अर्थविद् आचार्यको धारणा पनि उस्तै छ।

‘खानेकुरा र औषधिबाहेक सबै पसल बन्द छन्। यिनमै पनि बजारमा मासुको माग छ तर आपूर्ति गर्न सकिएको छैन। एकातिर अण्डा र चल्ला नष्ट हुँदैछ अर्कोतिर बजारमा पाइएको छैन’, उहाँले भन्नुभयो।

अहिलेको समयमा कोही पनि लुगा वा नयाँ गाडी वा टेलिभिजन किन्ने मनस्थितिमा हुन्नन्। यसले कति असर पारिरहेको छ भनेर हिसाबकिताबै भएको छैन।

खासगरी यी अनि निर्माणका क्षेत्रमा निर्भर दशौँ हजार दैनिक ज्यालादारी गर्ने मजदुर तत्कालको निम्ति अत्यधिक जोखिममा परिसकेका छन्।

कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

४. व्यापार तथा वित्तीय क्षेत्र

अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्।

देशको कुल गार्हस्थ्य उत्पादनमा निर्यातको अंश २.८ प्रतिशत अनि आयातको अंश ४० प्रतिशत छ।

एकातिर यो अवस्थामा माग नै हुने देखिँदैन भने अर्कोतिर माग भएपनि त्यसको आपूर्ति गर्न सहज छैन। अत्यावश्यक भनिएका सामग्रीको आयात तथा ढुवानीमा त समस्या देखिएको छ भने अरूको कुरै छाडौँ।

समग्रतामा ब्याङ्क वित्तीय संस्थाका अवस्था पनि नाजुक बन्दैछन्।

सहज आर्थिक गतिविधि ठप्प भएकाले कारोबारमा असर त छँदैछ अन्य क्षेत्रमा परेका सबै किसिमका नकारात्मक असरले ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा जोखिममा पर्न सक्छन्।

‘पर्यटनमा मात्रै ब्याङ्क र वित्तीय संस्थाका अर्बौँ लगानी छ। त्यसको अब रिकभरी वा सुधार हुन समय लाग्छ। त्यसैकारण ब्याङ्कका सम्पति जोखिममा पर्छन् जसको चौतर्फी असर पर्छ’, खनालले बताउनुभयो।

प्रमुख कुरा : कृषिमा कस्तो असर पर्ला?

महामारी र लकडाउन’को असर कृषिमा नपर्ने कुरै छैन।

तर यो क्षेत्रमा भने प्रभाव अलि कम पर्ला कि भन्ने आशा कतिपय अर्थविद्को छ। नेपालमा कृषिले कुल गार्हस्थ्य उत्पादनको झन्डै एकचौथाइ अंश ओगट्छ।

सामाजिक दूरी कायम गर्नुपर्ने स्थिति अनि श्रमिकको अभावले कृषि उत्पादनमा प्रभाव परिरहेको छ।

‘त्यो सँगसँगै बजार पहुँच तथा आपूर्ति प्रणाली अस्तव्यस्त छ। कृषि उत्पादनलाई बजार लैजान सकिएको छैन’, डा’ प्याकुर्‍यालले बताउनुभयो।

पूर्वसचिव खनालको विचारमा कृषिमा सामान्य प्रभाव पर्नेछ। मुख्य खाद्यान्नबालीमा कमै प्रभाव पर्ने तर कुखुराको मासु अनि तरकारी जस्ता क्षेत्रमा बढी प्रभाव पर्न सक्ने उनले बताए।

‘अहिले कतिपय उत्पादन भित्र्याउने अनि मकै छर्ने र लहरे तरकारी रोप्ने बेला हो। तर श्रमिक पाइएको छैन’, अर्थविद् आचार्यले बताउनुभयो।

यो समयमा आत्मनिर्भर भनिएका कतिपय क्षेत्र पनि परनिर्भर रहेको उजागर भएको उहाँले बताउनुभयो,’भन्न त कुखुराको मासुमा आत्मनिर्भर भनिन्थ्यो तर दानाको लागि सबै अन्तै भर पर्नुपर्ने रहेछ।’

सरकारको आशा

यी तमाम चुनौतीका माझ अहिले सरकार विभिन्न क्षेत्रमा परेको प्रभाव आकलन गर्न तथा नयाँ बजेट ल्याउने तयारीमा लागिपरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार ग्रामीण कृषिबाहेक अर्थतन्त्रका सबै क्षेत्रमा कोरोनाभाइरस महामारी तथा ुलकडाउनुको असर परिसकेको छ। कृषिमै पनि नाशवान् वस्तुका भण्डारण अनि सामान आपूर्ति प्रभावित छ।

तर पनि यो वर्ष देशको आर्थिक वृद्धि दर चार प्रतिशतसम्म हुन सक्ने आशा अर्थमन्त्री डा. खतिवडाले राख्नुभएको छ ।

‘छरछिमेकमै गम्भीर असर परिरहेकोले हामीले उच्च वृद्धि त गर्न नसकौँला तर सङ्क्रमण धेरै नलम्बिए चार प्रतिशतसम्म पुग्छ’,डा. खतिवडाले भन्नुभयो।

चितवन
पर्यटन र विप्रेषणमा पर्ने गम्भीर असरबारे पनि अर्थमन्त्रीको अलि भिन्न बुझाइ छ।

उहाँ भन्नुहुन्छ, ‘जति आम्दानी नेपालमा पर्यटक नआएर घट्ने त्यति नै नेपालीहरू पनि विदेश भ्रमणमा नगएपछि जोगिनेछ।’

त्यस्तै जति आम्दानी विप्रेषणमा घट्छ त्यसको भरथेग त्यसकै फलस्वरूप हुने आयातको गिरावटले गर्नेछ।

‘उच्च तहको सन्तुलनबाट झरेर तल्लो तहको सन्तुलन कायम हुन सक्छ’, उहाँले बताउनुभयो।

अतिविपन्न राष्ट्रहरूको श्रेणीबाट केही वर्षमै माथि उक्लिने नेपालको लक्ष्यमा पनि वर्तमान सङ्कटको कालो छाया परेको छ।

तर अर्थमन्त्री खतिवडा यसमा पनि धेरै चिन्ता लिन नहुने बताउँनुहुन्छ,’हो हामी उच्च आर्थिक वृद्धिको बाटोमा थियौँ। अचानक झट्का लागेको छ। तर हाम्रा लक्ष्यबाट हामी पछि हट्दैनौँ। हामी फेरि उठ्छौँ।’

Share Now

Leave a comment.