Prakash Adhikari May 10, 2020

 

काठमाडौं, २७ बैशाख । नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १ सय १० पुगेको छ।

आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ भेटिएको जनाएको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ। जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ।’

मन्त्रालयले नयाँ संक्रमित बिरामीको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म प्रदेश नं १ मा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो देशभरिकै सर्वाधिक सङ्ख्या हो।

शनिवार अपरान्हसम्म देशभरि ४ हजार ५ सय ९२ जनाभन्दा बढी मानिस क्वारन्टाइनमा थिए भने सम्भावित सङ्क्रमितसहित १ सय ४३ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको थियो।

अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड(१९ भएका व्यक्ति फेला परेका छन्।

सरकारले अहिलेसम्म ३० जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ।

तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।

कोरोना भाइरसको नयाँ संक्रमणमा पर्नुभएकी बिरामी उदयपुरको भुल्के निवासी हुनुहुन्छ।

गत बुधवार पुनः नमुना स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा उहाँमा कोरोनाभाइरस सङ्क्रमण देखिएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताउनुभएको छ।

उहाँलाई उपचारका लागि विराटनगर ल्याइने अधिकारीहरूले जनाएका छन्।

शनिवार पुष्टि भएका भुल्केका तीन महिलामा पनि दोस्रो पटकको पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिएको थियो।

यो सँगै उदयपुरमा कोभिड १९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ३२ र प्रदेश १ मा ३५ पुगेको छ। तीमध्ये १४ जना निको भएर फर्किसकेका छन्।

हाल विराटनगरमा २० जना सङ्क्रमितको उपचार भइरहको छ ।

Share Now

Leave a comment.