काठमाडौं, ४ जेठ । सरकारले देशभर जारी लकडाउनलाई जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस अगाडि आइतबार अपरान्ह बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आइतबार बसेको समिति बैठकले लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको जनाउदै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएको र दुईजनाको मृत्यु समेत भैसकेको अवस्थामा थप कडाइ गरी लकडाउनको अवधि लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बजेट छुट्याएरै भए पनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय सहितको सिफारीस गरेको बताउनुभएको थियो ।
उच्च स्तरीय समितिले लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने सिफारिस गरेको थियो।
बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको थियो।


















