काठमाडौं, ५ जेठ । नेपालमा थप नौजनामा कोरोननाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप नौ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ३ सय ४ पुगेको छ।
सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन। ती मध्य सातजना पुरुष र एकजना महिला छन्।
बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बेलुकी थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको थियो।
नयाँ सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष हुन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ सङ्क्रमितहरूको पुष्टि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो।
यसअघि आइतवार बिहान पनि रौतहटमा १० जना नयाँ सङ्क्रमित फेला परेका थिए।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित रौतहट राजपुर नगरपालिका र ईशनाथ नगरपालिकाका हुन् ।
रौतहटको ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार भारतको दिल्लीबाट आएकाहरूमा आइतवार सङ्क्रमण पुष्टि भएको जनाउनुभएको थियो।
मेहताले भन्नुभयो, ‘अहिले २ सयजना जति क्वारन्टाइनमा छन्। अरु पनि आइरहेका छन्।’
मेहताले करिब १ हजार २ सयजनालाई राख्न सकिने गरी क्वारन्टाइनको व्यवस्था गरिएको जानकारी दिनुभयो।


















