काठमाडौं, ४ जेठ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारसम्बन्धी नीति र कार्यक्रम तय गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणका बिरामीहरु बढ्दै जान थालेको र शनिवार यता संक्रमित बिरामी मृत्यु समेत हुन थालेकोले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
यसबारे आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।
सरकारले जेठ १५ गतेसम्म लकडाउन बढाउन सक्ने संभावना रहेको बताइएको छ ।
गत चैत्र ११ गतेदेखि १८ गतेसम्मको अवधि किटान गरी देशव्यापी रुपमा आरम्भ भएको लकडाउन दोस्रो पटक चैत्र २५ गतेसम्म,तेस्रो पटक बैशाख ३ गतेसम्म, चौथो पटक वैशाख १५ गतेसम्म, पाँचौ पटक बैशाख २५गतेसम्म र छैठौंपटक जेठ ५ सम्म कायम रहने गरी लकडाउनको अवधि बढाउने निर्णय सरकारले गरेको थियो ।
देशको आर्थिक अवस्थाबारे चिन्तन गर्ने अर्थविद्, उद्यमी, व्यवसायीहरुले भने मुलुकको अर्थतन्त्रलाई जीवन्त राख्न लक डाउन विस्तारै खुकुलो पार्र्दै आर्थिक गतिविधिहरु सुचारु गर्न सुझाव दिइरहेका छन् ।


















