Prakash Adhikari May 17, 2020

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको कारणबाट अर्का एक जनाको मृत्यु भएको छ ।

बाँकेको नारैनपुर गाउँपालिकास्थित क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनीसहित नेपालमा कोरोनाको कारणबाट मर्ने व्यक्तिको संख्या दुई भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुरकाृ क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभएको छ।

बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा राखिएको थियो।

ती युवकलाई शनिबार साँझदेखि ज्वरो आउनुका साथै पखाला लागेको र आइतबार बिहानै दुईपटक वान्ता पनि गरेका थिए। आइतबार विहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो।

उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नरैनापुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्यले बताउनुभएको छ ।

शनिबारमात्र सिन्धुपाल्चोकको बाह्रबिसे गाँउपालिका निवासी एक सुत्केरी महिलालाई उपचारार्थ धुलिखेल अस्पताल ल्याउद ल्याउदै बाटैमा मृत्यु हुन गएको थियो ।

उनको स्वाव परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

उनको शनिबार साँझै नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्ठी गरिएको थियो ।

काठमाडौंको टोखा नगरपालिका गोंगबूमा डेरा गरी बस्ने उनी शिक्षण अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि घर गएकी थिइन् ।

अहिले उनका नवजात शिशु,पति र परिवारका सदस्यहरुलाई धुलिखेल अस्पतालमा आइसोलेशनमा राखेर निगरानी गरिएको छ भने उनी डेरा गरी बसेको गोंगबू क्षेत्रमा उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी कोरोना परीक्षण गरिएको छ ।

टिचिड. अस्पतालमा उनको स्वास्थ्य तथा स्याहारमा खटिने स्वास्थ्यकर्मी र उनलाई भेट्न पुग्ने आफन्तहरुको पनि खोजी गरेर कोरोना भाइरसको परीक्षण थालिएको छ ।

नेपालमा हालसम्म २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

Share Now

Leave a comment.