Prakash Adhikari May 18, 2020

काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आम नागरिकको जीवनमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिएको छ ।

सन्देहास्पद व्यक्तिलाई इन्कुवेशन अवधिभर सुरक्षित गर्न बनाइएको क्वारेन्टाइनमा नै कोरोना संक्रमित विरामीको मृत्यु भएको भोलिपल्ट नेपाली कांग्रेसले सरकारलाई सो चेतावनी दिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ ।नेपाली कांग्रेसले बांकेको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको छ । घटनाबाट शिक्षा लिंदै गम्भीर भएर कार्य गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिन चाहन्छ ।

बाँके जिल्लाको नरैनापुर गाँउपालिकास्थित  दीपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारन्टाइनमा कोरोना संक्रमणका कारण भएको मृत्युका सम्बन्धमा सात प्रश्न उठाउदै उहाँले भन्नुभएको छ, ती युवकको मृत्युलाई केवल एक थान मृत्युुका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका  गम्भीर कमजोरीलाई नजरअन्दाज गरियो ।

कांग्रेस नेता शर्माले सरकारसंग यस्ता प्रश्न गर्नुभएको छ :

(१) ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुंदाहुंदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पु¥याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

(२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?

(४) आइतबार बिहान ७.०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

कोरोना संक्रमणबाट आइतबार मृत्यु भएका बाँके नरैनापुरका युवकका आफन्त।  वैशाख ३० गते भारतबाट आएका युवकको क्वारेन्टिनमै मृत्यु भएको हो। तस्बिर: सेतोपाटी।
(५) लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चांडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

(७) श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बांकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

 

 

 

Share Now

Leave a comment.