काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणमा परेका बिरामीहरुको संख्या ६ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले आइतवार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ सय ३ जना पुगेको छ।
सङ्क्रमितमध्ये ५ सय २४ पुरुष र ७९ महिला रहेको बताइएको छ।
आइतवार नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।
आइतवार थपिएका सङ्क्रमितहरू केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विराटनगर र भैरहवास्थित प्रयोगशालाको परीक्षणमा पुष्टि भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार आइतवार अपरान्हसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ नमुनाको पीसीआर र ३ हजार ७ सय ९१ नमुनाको आरडीटी विधिबाट परीक्षण गरिएको जानकारी डा. देवकोटाले दिनुभयो।
सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन्।
सङ्क्रमितको सङ्ख्या वृद्धि
आइतवारसम्म ९० हजार २६ को आरडीटी विधिबाट परीक्षण गरिएको छ।
प्रवक्ता देवकोटाले सबै प्रदेशमा गरी ३९ हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका बताउनुभएको छ।
त्यसरी क्वारेन्टाइनमा रहनेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५ जना रहेका छन्।
डा. देवकोटाले हाल आइसोलेशनमा रहेका मध्ये ५ सय १३ जना सङ्क्रमित रहेको बताउनुभएको छ।

नेपालमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।
कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले सङ्ख्या बढेको उल्लेख गरिरहेका छन्।
कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको सङ्ख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन्।
सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन्।
लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो सङ्ख्यामा देश भित्रिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ।


















