काठमाडौं, ११ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ ।
संघको कोभिड १९, उच्चस्तरी समिति अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपालमा २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जना नेपालीको निधन भएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । साउदी अरबमा ७ जनाले जीवन गुमाएका छन भने नेपालमा ३ को निधन भएको छ । त्यस्तै कतार , आयरल्याण्डमा , जापानमा , टर्कीमा , नेदरल्याण्ड , बहराइन , स्वीडेन , कतार र कुवेतमा एक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

संयोजक डा.सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ ।
संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो ।
अत्याधिक कोरोना प्रभावित देशहरु मध्य वेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टे«लिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।
यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
चीनवाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।
संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार कोरोना पिडितको लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजार १ सय भन्दा बढी स्वयमसेवक खटाइएको छ ।
संघले शनिवार साँझ सम्म ४० हजार भन्दा बढी गैरआवासीय नेपालीहरुलाई राहत वितरण गरिएको छ भने ६२ हजार भन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् ।
संघले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समिति सहित दाताहरुले दिएको रकम ८ करोड रुपैयाँ पुगेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।
संघले यसअघि १० देशका नेपालीहरुको राहतको लागि आर्थिक सहयोग गरेका थियो ।


















