सानेपा (ललितपुर), १२ जेठ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले संविधानको अनुसूचीमा नेपालको नयाँ नक्सा राख्ने विषयमा सरकारद्धारा प्रतिनिधिसभामा प्रस्तुत संशोधन विषय र संविधानका अन्य विषय संशोधन गर्न नवगठित जनता समाजवादी पार्टीका तर्फबाट गरिएको मागका सम्बन्धमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले केन्द्रीय समितिको बैठकको मिति भने किटान गरेको छैन् ।
पदाधिकारी बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा आइतबारको बैठमा लकडाउनको २ महिनाको समिक्षा, सीमा प्रश्नमा धारणा प्रष्टता, केन्द्रीय कार्यसमितिको बैठक बोलाउने लगायतको निर्णय गरेको छ ।
कांग्रेस पदाधिकारी बैठकले नेपालको पश्चिमोत्तर सीमाका सम्बन्धमा भनेको छ, ‘सन् १८१६ को सुगौली सन्धीको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग हुन् र ती भू–भागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनु पर्दछ भन्ने नेपाली कांग्रेसले विगत देखि नै राख्दै आएको प्रष्ट धारणालाई दोहो¥याउँदै नेपाल सरकारलाई उच्च स्तरीय कुटनीतिक र राजनीतिक पहल गर्न फेरि पनि माग गर्ने निर्णय गर्दछ ।’
सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
पदाधिकारी बैठकले वर्तमान सरकार कोरोना भाइरसको प्रकोप र त्यसको असर न्यूनीकरणमा असफल भएको निष्कर्ष पनि निकालेको छ । बैठकले नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना र लक डाउन भएको २ महिना पूरा हुंदासम्म अझै पनि परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टाइनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न नसक्नुलाई सरकारको गैह्र जिम्मेवार पन र असक्षमताको रूपमा परिभाषित गर्दै बैठकले काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पीसिआर परिक्षण निःशुल्क रुपले व्यापक बढाउन सरकार समक्ष माग गरेको छ ।
कांग्रेस पदाधिकारीको बैठकले भारतको विभिन्न शहरबाट सीमासम्म आइपुगेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन, क्वारेन्टाइनमा राख्न र पीसिआर परिक्षण पश्चात् मात्रै घर पु¥याउने प्रबन्ध गर्न सरकारसमक्ष माग गरेको छ ।
कांग्रेसले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्ने तर्फ सरकारलाई सतर्क गराउंदै नागरिकको जीवनप्रति खेलवाड नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।
कांग्रेसका पदाधिकारीहरुले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार गर्ने ब्यवस्थित कार्य योजना निर्माण गर्न सरकारले गरेको ढिलाइलाई आफ्ना नागरिकप्रतिको असंवेदनशील ब्यवहार ठहर गर्दै बैठकले यथाशीघ्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्दार थाल्न पनि माग गरेको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकले विदेशमा मृत्यु भएका करिब २ सय भन्दाबढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै बैठकले एकल महिला र अपांगता भएका नागरिकहरुको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाउँदै त्यसलाई पुनः कार्यान्वयनमा ल्याउन र समयानुकूल वृद्धि गर्न माग गरेको छ ।
बैठकले कोरोनाबाट सिन्धुपाल्चोक, बांके र गुल्मीमा मृत्यु भएका ३ नेपाली संगै बिदेशमा जीवन गुमाउने सबै नेपालीको आत्माको चिर शान्तिको कामना गरेको छ । साथै उपचाररत सबै नेपालीको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
जेलमा रहेका नेपाली कांग्रेसका सांसद अफताब आलमको घर रौतहटमा नेपाल प्रहरीले मध्यरातिको समयमा घर घेरेर तोडफोड समेत गरि आतंक मच्चाएको घटनालाई बैठकले निन्दा गरेको छ ।
पदाधिकारीको बैठकमा विशेष आमन्त्रितका रुपमा नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा प्रतिपक्षी नेता राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


















