काठमाडौं, १३ जेठ (बीबीसी)। नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५ हजारसम्म पुग्ने नयाँ अनुमान गरिएको छ । र ,त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ।
अहिलेसम्म ५० हजारभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।
सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५० हजार वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ।
सामानको जोहो
यसअघि सरकारले नेपालमा झन्डै १ हजार ५ सय मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो।

अहिले भारतबाट नेपलीहरू फर्किने क्रम बढेको छ
तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।
अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्।

अहिले प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू क्वारन्टीनमा छन्
भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।
यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ।
त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताउनुभयो।
उहाँले भन्नुभयो, ूत्यो प्रक्षेपणलाई ध्यानमा राखेर सामग्रीको जोहो गर्न हामीले सुरु गरिसकेका छौँ। खासगरी परीक्षण किटको टेन्डर प्रक्रिया भइसकेको छ।ू
‘पुरानो प्रक्षेपणमा ठूलो सङ्ख्यामा भारतबाट मानिस आउने कुरा यो स्तरमा सोचिएको थिएन। अब हामीले नयाँ प्रक्षेपण सुरु गरिसक्यौँ।’
कति सामान खरिद ?
दुई लाख पाँच हजार भीटीएम र १,७५,००० पीसीआर किट खरिदको प्रक्रियामा रहेको बताइएको छ।
पीपीई, मास्क, पन्जा र अन्य स्वास्थ्य सामग्रीका हकमा भने मन्त्रालयले स्वीकृति दिइसकेको र स्रोत सुनिश्चितता हुनासाथ खरिद गरिने बताइएको छ।
झन्डै ७५ जनाको पीसीआर परीक्षण गर्दा एक जनाको अनुपातमा सङ्क्रमित देखिएको परीक्षणको पछिल्लो तथ्याङ्कले देखाएको हुनाले हाल खरिद गर्न लागिएका परीक्षण सामग्रीले पनि नपुग्ने उहाँको भनाइ छ।
कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
हाल सबै प्रदेश र जिल्लामा आवश्यक परे जति व्यवस्था गर्न नसकिए पनि स्वास्थ्य सामग्री र परीक्षण किटको अभाव हुन भने नदिइएको दाबी निर्देशक डोटेलले गर्नुभयो।
‘अहिले लकडाउनको अवस्था छ, विश्वव्यापी सङ्कट छ, यातायात र ढुवानीमा असहजता छ। तैपनि हामीले सकेसम्म सामग्री अभाव हुन दिएका छैनौँ। मागेजति पाएका छैनन् होला तर पूर्ण अभाव हुन दिएका छैनौँ’, उहाँको भनाइ छ,’ रणनीतिक रूपमै हामीले सानोसानो परिमाणमा सामग्री दिएका छौँ ताकि कतै त्यो थुप्रिएर नबसोस्। बरु एकपल्ट पठाए पुग्नेमा थोरैथोरै गरेर पटकपटक पठाएका छौँ। त्यसै अपेक्षा पूरा नभएको देखिएको होला तर सामग्रीको अभाव हुन दिएका छैनौँ।’
सङ्क्रमितको सङ्ख्या २ हजार पुगेमा फेरि तथ्याङ्कको समीक्षा र विश्लेषण गरेर आवश्यक तयारी गरिने उहाँको भनाइ छ।
हाल धेरै परीक्षण सामग्री एकै पटक ल्याउँदा त्यसलाई भण्डारण गर्न चाहिने तापक्रमअनुसार मिलाएर राख्न कठिन हुने भएकाले मध्यम स्तरमा खरिदको काम भइरहेको बताइएको छ।
सरकारले कुल जनसङ्ख्याको दुई प्रतिशत अर्थात् झन्डै ६ लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखेको बताइएको छ।


















